बैंक अफ काठमाण्डूका पूर्वसीईओलाई १ करोड धरौटीमा छाड्न सर्वोच्चकाे आदेश
८ मंसिर, काठमाडौँ । बैंक अफ काठमाण्डूका पूर्व प्रमुख कार्यकारी अधिकृत अजय श्रेष्ठलाई १ करोड रुपैयाँ धरौटीमा रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । श्रेष्ठसँगै पूर्वकर्मचारी किरणकुमार बोहरालाई समेत १ करोड रुपैयाँ धरौटीमा रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । उच्च अदालत पाटनले बैंकिङ कसूर मुद्दामा थुनामा पठाउने आदेश दिएपछि त्यसविरुद्ध उनीहरु सर्वोच्च गएका थिए ।

सर्वोच्चका न्यायाधीशहरु सपना मल्ल प्रधान र कुमार रेग्मीको संयुक्त इजलासले आइतबार थुनामा राखेर मुद्दा पुर्पक्ष गर्ने भन्ने उच्च अदालतको आदेश बदर गर्दै १ करोड रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । अब श्रेष्ठले उच्च अदालतमा १ करोड रुपैयाँ धरौटी तिरेरपछि रिहा हुन पाउनेछन् । नक्कली धितोमा ऋण प्रवाह गरेको र कीर्ते गरेको अभियोगमा उनीहरु पक्राउ परेका थिए । कर्जा लगानी भएको बेला श्रेष्ठ सीईओ थिए ।
प्रकाशित मिति : November 24, 2019 at 5:26 pm









