खानेपानी आयोजना निर्माण भएपछि तनहुँ बासीका डोकामा पानी बोक्ने दुःख गए
– कृष्ण न्यौपाने
८ मंसिर,दमौली । तनहुँको ऋषिङ गाउँपालिका–१ गैह्राखुदीका ६६ वर्षीया खगीमाया आले झिसमिसे उज्यालो हुन नपाउँदै डोको बोकेर खानेपानीको व्यवस्था गर्न घरबाट निस्कनुपथ्र्याे । गाउँमा खानेपानीको चरम अभावसँगै आलेलाई खानेपानीको जोहो गर्न निकै कठिन थियो । “उठ्न नपाउँदै कसरी खानेपानी व्यवस्थापन गर्ने भन्ने पीरले साह्रै सताउँथ्यो,” आलेले भन्नुभयो, “घरबाट तीन घण्टा हिँडेर डोकोमा पानी बोक्नुपर्ने दुःख शब्दमा बयान गर्न सक्दिन ।” तर, अहिले घरमै खानेपानी धारा जडान भएपछि भने आलेको दैनिकी बदलिएको छ । खानेपानी व्यवस्था गर्न डोको बोकेर तीन घण्टा हिँड्नुपर्ने दुःखको दिन अब आलेलाई छैन । घरमै भएको धारा खोलेपछि पानी आएको देख्दा आलेलाई सपना जस्तै लागेको छ । “घरमै पानी आउला र जस्तो लाग्थ्यो,” आलेले भन्नुभयो, “घरमै धारा जडान भएपछि साह्रै खुशी लागेको छ ।”

तनहुँको ऋषिङ गाउँपालिका-१ स्थित गैह्राखुदी खानेपानी आयोजना उपभोक्ता समितिका अध्यक्ष दिपक रानालाई खानेपानी आयोजना हस्तान्तरण गर्दै खानेपानी डिभिजन कार्यालयका प्रमुख हरिप्रसाद तिमिल्सिना । तस्वीरः कृष्ण न्यौपाने
आर्थिक वर्ष २०७०/७१ मा डिपिआर भएको उक्त आयोजना २०७१/७२ मा निर्माणको चरणमा गएको थियो । आयोजनाको डिपिआर तयार गर्दा रु ९९ लाख ९६ हजार १२० लागत लाग्ने अनुमान गरिए पनि अनुमानभन्दा कम लागतमै आयोजना निर्माण सम्पन्न भएको हो । आयोजनामार्फत ७७ घरधुरी, विद्यालय र एक संस्थामा खानेपानी सुविधा पुगेको छ । आयोजनाबाट ५७६ जना लाभान्वित भएको खानेपानी आयोजना उपभोक्ता समितिकाएक अध्यक्ष दीपक रानाले जानकारी दिनुभयो । रानाका अनुसार घरघरमै धारा जडान भएपछि स्थानीयवासीको दैनिकीमा परिवर्तन आएको बताउनुभयो । रानाले भन्नुभयो, “खानेपानीको सुविधा पुगेपछि स्थानीयवासीलाई खानेपानीको सुविधासँगै करेसाबारीमा पनि पानी प्रयोग गर्न पुगेको छ ।”
दीपक निम्न माविका शिक्षक देवबहादुर थापाले विद्यालयमा धारा जडानपछि विद्यार्थीलाई खानेपानी सहज भएको जानकारी दिनुभयो । खानेपानी सुविधा नहुँदासम्म शिक्षकहरुले नै डोकोमा बोकेर विद्यालयमा खानेपानी व्यवस्था गर्दै आएका थिए । विद्यालयका पूर्वप्रधानाध्यापक एवं स्थानीयवासी डम्बरसिंह थापाले सपनामा पनि डोको बोकेको देख्ने यहाँका स्थानीयवासीलाई खानेपानी सुविधा आएपछि यस्तो दिन पनि आउँछ र भन्ने लागेको बताउनुभयो । ‘लिफ्ट’ प्रविधिमा आधारित उक्त खानेपानी आयोजनाका लागि २० हजार लिटर क्षमताको दुईवटा ट्याङ्की निर्माण गरिएको छ । ७५० मिटर प्रसारण लाइन रहेको आयोजनाको उचाइ मुहानदेखि पानी ट्याङ्कीसम्म १५० मिटर रहेको छ भने वितरण लाइन चार हजार १५० मिटर रहेको छ । यस प्रविधिमा आधारित खानेपानी आयोजना भएकाले मर्मतसम्भारमा विशेष ध्यान दिनुपर्ने खानेपानी तथा सरसफाइ डिभिजन प्रमुख तिमिल्सिनाले बताउनुभयो । “अब यसको सम्पूर्ण जिम्मेवारी उपभोक्तामा गएको छ,” तिमिल्सिनाले भन्नुभयो, “आयोजना दिगो रुपमा सञ्चालन गर्न कोष खडा गर्नुपर्ने हुन्छ ।
प्रकाशित मिति : November 24, 2019 at 1:35 pm









