बालाचतुर्दशीमा शतबिज छरिँदै
८ मंसिर, काठमाडौं । आज बाला चतुर्दशी । प्रत्येक मार्ग शीर्षकृष्ण त्रयोदशीका दिन बेलुकी दिवंगत पितृका नाममा दीपदान र चतुर्दशीका दिन बिहान शतबिज छरेर मनाइन्छ । बालाचतुर्दशीका अवसरमा पशुपतिनाथलगायत देशभरका शिव मन्दिरमा बालाचतुर्दशीको अघिल्लो रात (आज साँझ) दिवंगत पितृका नाममा दीपदान गर्न भक्तजन पुग्छन् । आज साँझ दीपदान गरी भोलि (सोमबार) बिहानै पितृको सम्झनामा शतबीज छरी बालाचतुर्दशी मनाइने परम्परा छ । प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बालाचतुर्दशी पर्व मनाउन देशका विभिन्न स्थानबाट भक्तजन पशुपति पुग्ने गर्छन् ।

दिवंगत आफन्तजनको आत्मशान्तिको कामना गर्दै १०८ शिवलिंग, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, पशुपति, मृगस्थली, विश्वरूप र किरातेश्वर आदि ठाउँमा शतबीज छर्ने परम्परा छ । बालाचतुर्दशीको पूर्वसन्ध्या मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन राति भक्तजनले महादीप बाली भजनकीर्तन र लोक झाँकी प्रस्तुत गरी रात बिताउने गर्छन् । शतबिज अर्थात् धान, जौं, तिल, गहुँ, चना, मकै, कागुनो छर्दै मृगस्थलीमा रहेका बहिरा गणेशनजिक आइपुगेपछि उक्त गणेशको शिलालाई हल्लाउँदै ठूलो स्वरले दिवंगत आत्माले पाउने गरी सन्देश पुर्याउन अनुरोध गरिन्छ ।
प्रकाशित मिति : November 24, 2019 at 8:45 am









