११ असार २०८३, बिहिबार | Thu Jun 25 2026

फोहोरमुक्त बनाउन सकिन्छ बागमतीलाई  !

८ मंसिर, काठमाडौं । ‘हिँड्दै, पाइला मेट्दै’ भन्ने भनाइ र बागमती नदी सफाइको नियति उस्तैउस्तै भएको छ । २ महिना नबित्दै बागमतीमा सफाइ गरिएको ठाउँमा फेरि जस्ताको त्यस्तै हुने गरेको छ । फोहोर गरी सफा गर्नुभन्दा फोहोरै नगर्ने जनचेतना र परिपाटीको विकास नभएसम्म बागमती सफा हुन नसक्ने अनुभवीहरु बताउँछन् । कलकल पानीमा पौडी खेल्ने राजधानीवासीको सपना साकार हुन बागमतीमा फालिएको फोहोर सफा गरेर होइन, फोहोरै नगरेर सम्भव हुने अभियान्ताको मत रहेको गोरखापत्र दैनिकमा समाचार छ ।

जनचेतनाको अभाव र घरटोलमा नै फोहोरको व्यवस्थापन हुन नसक्दा बागमती सफाइ झनै जटिल हुँदै गएको छ । “सफाइ अभियान सुरु भएदेखियता कुपण्डोलको थापाथली पुल क्षेत्रमा जतिपटक सफाइ गर्न जाँदा पनि फोहोर राखिएका प्लास्टिकका पोका र जुटका बोराहरू भेटिन्छन्,” पूर्वसचिव तथा बागमती सफाइ अभियन्ता किशोर थापाले आफ्नो अनुभव सुनाउँदै भने, “यो क्षेत्रमा १० पटकभन्दा बढी सफाइ भइसक्यो तर फोहोरको पोका र बोरा भेटिने क्रम रोकिएको छैन ।”

बागमती सरसफाइ अभियानको ३४१औँ सातामा थापाथली पुल क्षेत्रमा बागमती सफा गर्दै भेटिएका पूर्वसचिव थापाले यो क्षेत्रमा दुर्गन्ध पनि कम नभएको अनुभव सुनाए । आमनागरिकमा चेतनाको विकास, घर, टोलछिमेकमै फोहोरको व्यवस्थापन तथा यससँग सम्बन्धित कानुनको निर्मम कार्यान्वयन नगरेसम्म बागमती लगायतका नदी खोलाहरूको सरसफाइ अभियानले मूर्तरूप लिन नसक्ने उनको भनाइ छ ।

गाडी र मोटरसाइकल चढेर आउनेहरूले पुलबाट बागमतीमा फोहोरका पोका फाल्ने गरेको घटना अत्यधिक भेटिएको उनले बताए । २०७० जेठ ५ गतेदेखि संस्थागत रूपमा बागमती सरसफाइ अभियान सुरु भएको थियो । मन्त्रिपरिषद्का तत्कालीन अध्यक्ष खिलराज रेग्मीले गुह्येश्वरीबाट बागमती सरसफाइ अभियानको आरम्भ गरेका थिए ।

अभियानबाट अहिलेसम्म ८ हजार ५ सय टन फोहोर संकलन भई व्यवस्थापन पनि गरिएको अभियानले जनाएको छ । बागमती सरसफाइका अर्का अभियन्ता राजु अधिकारीले यस अभियानले नदी खोलामा फोहोरका पोका र बोरा फाल्ने क्रम केही कम भए पनि अझै यसको अन्त्य हुन नसकेको बताए । काठमाडौँको गुह्येश्वरीदेखि ललितपुरको सुन्दरीघाटसम्मका अधिकांश ठाउँमा अहिलेसम्म अनेकपटक सफाइ भए पनि रातिराति फोहोर फाल्ने रोग भने निको हुन सकेको छैन ।

प्रकाशित मिति : November 24, 2019 at 7:33 am