२७ चैत्र २०८२, शुक्रबार | Fri Apr 10 2026

कांग्रेसको पहिलो प्राथमिकता नै शान्तिः देउवा

१७ वैशाख, काठमाडाैँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेसको पहिलो प्राथमिकता नै शान्ति भएको उल्लेख गर्नुभएको छ । उहाँले दुई हजार ५६२ औंँ बुद्धजयन्तीका अवसरमा आज शुभकामना सन्देशमार्फत बुद्धका उपदेशलाई सबैले पालन गरेर देशमा शान्ति कायम होस् र अन्याय, अत्याचार एवं सबै प्रकारका दमनबाट सम्पूर्ण देशवासीले मुक्ति पाऊन् भन्ने कामना गर्नुभएको छ ।

सभापति देउवाले सन्देशमार्फत विगतका वर्ष अशान्ति र द्वन्दबाट आक्रान्त रहेको हाम्रो देश अझै पनि हत्या, हिंसा, अपहरण, मानवनधिकार विरोधीलगायत घटनाबाट मुक्त हुन नसकेको बताउँदै भन्नुभएको छ,“शान्त र समुन्नत नेपाल निर्माणका लागि हाम्रासामु थुप्रै अवसरहरू रहेका छन् । हिंसा, हत्या, अपहरणजस्ता मानवअधिकार विरोधी क्रियाकलाप अब सदाका लागि बन्द गरिनुपर्दछ ।”

नेपालको संविधानबमोजिम सबै प्रकारका निर्वाचन सम्पन्न भई संविधानको सफल कार्यान्वयन हुनाका साथै संक्रमणकालीन राजनीतिबाट मुलुकले निकास पाएको उल्लेख गर्दै शुभकामना सन्देशमा भनिएको छ, “यो ऐतिहासिक उपलब्धिपछि नेपाली जनताको अबको महत्वपूर्ण चाहना भनेको आर्थिक विकास र शान्ति नै हो । दिगो शान्तिविना मुलुकको समग्र विकास सम्भव छैन भन्ने नेपाली काँग्रेसको स्पष्ट धारणा रहेको छ ।”

सभापति देउवाले शान्ति, सहिष्णुता तथा सद्भावका प्रणेता गौतम बुद्धको उपदेशलाई सबैलाई मन, वचन र कर्मले पालन गर्न तथा अशान्ति, हत्या र हिंसाको विरोध गर्न आग्रह गर्नुभएको छ ।

प्रकाशित मिति : 06:00