११ असार २०८३, बिहिबार | Thu Jun 25 2026

मुख्यमन्त्रीको सडक अनुगमन

७ मंसिर, हेटौंडा । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले पुनर्निर्माण प्राधिकरणमार्फत निर्माणाधीन करिब २४ किमिको भीमफेदी-इपा सडक तथा निजगढ-काठमाडौँ द्रुतमार्गको अवलोकन तथा अनुगमन गरेका छन् । अवलोकनका लागि शुक्रबार उत्तरपूर्वी मकवानपुरको भीमफेदी, कोगटे, इपा पञ्चकन्यालगायत क्षेत्रमा पुगेका हुन् ।

उनले प्रदेश सरकारले निर्माण गर्न लागेको सुरुङ मार्गको अध्ययन गरिएको स्थान पनि निरीक्षण गरे । भीमफेदी–इपा सडकको अनुगमनका क्रममा मुख्यमन्त्री पौडेलले सडक फराकिलो र दीर्घकालीन हिसाबले बन्न लागेकोमा खुसी व्यक्त गर्दै गरे । यो सडकलाई हेटौंडाबाट काठमाडौं जाने वैकल्पिक मार्गका रुपमा प्रयोग गर्न सकिने उनको भनाइ थियो ।

२६ करोडमा बन्न थालेको सडक तोकिएकै मितिमा पूरा गर्न पौडेलले निर्देशन दिए । १ वर्षअघिदेखि निर्माण सुरु भएको उक्त सडक सम्झौता भएको मितिले १८ महिनामा पूरा गरिसक्नुपर्ने जनाइएको छ ।

यस सडक सञ्चालन भएपछि काठमाडौँ-इपा-देउराली खण्ड हुँदै सवारी सञ्चालन हुनसक्नेछ । यस्तै भीमफेदी गाँउपालिकाका बासिन्दा पनि लाभान्वित हुने अध्यक्ष हिदम लामा बताउँछन् । –रासस

प्रकाशित मिति : November 23, 2019 at 8:01 am