१० जेष्ठ २०८३, आइतबार | Sun May 24 2026

सन् १९८४ मा हराएको मूर्ति अमेरिकी संग्रहालयमा

५ मंसिर, काठमाडौं । सन् १९८४ मा काठमाडौंको मन्दिरबाट चोरी भएको मूर्ति अमेरिकाको डल्लास म्युजियम अफ आर्टमा भेटिएको छ । ‘यो मूर्ति सन् १९८४ मा काठमाडौंको मन्दिरबाट चोरी भएको थियो’, आर्ट क्राइम प्रोफेसर इरिन एल थोप्सनले मंगलबार मूर्तिको फोटो राख्दै ट्विट गरेका छन् ।

उक्त मूर्तिको फोटो इतिहासकार लैनसिंह बाङदेलको ‘स्टोलन इमेजेज अफ नेपाल’ नामक पुस्तकमा छापिएको थियो । उक्त मूर्ति नारायण मन्दिर पाटनको वासुदेव कमलजाको हो । कमलको फूलमा उभिएको उक्त मूर्तिले दुई भगवानको प्रतिनिधित्व गर्छ । मूर्तिको दायाँ भागले भगवान् विष्णु (नारायण) को प्रतिनिधित्व गर्छ भने र बायाँ भागमा वैकुण्ठ कमलजा (विष्णुको श्रीमती) को प्रतिनिधित्व गर्छ । १५औं शताब्दीमा बनेको उक्त मूर्ति १९८४ मा चोरी भएको बाङदेलले उल्लेख गरेको नागरिक दैनिकमा समाचार छ ।

उक्त मूर्ति नेपालबाट चोरी भएका अनेकौं कलाकृतिमध्येको एक हो । नेपालबाट चोरी भएका यस्ता कलाकृतिलाई पश्चिमी मुलुकका संग्रहालय तथा लिलामीकर्ताले बहुमूल्य संग्रहका रुपमा प्रस्तुत गर्ने गरेका छन् ।

नेपाल सरकार तथा अन्य सरोकारवाला निकायले चोरिएका कलाकृति फिर्ता ल्याउन लामो समयदेखि अभियान चलाइरहेका छन् । तर यो अभियान सफल भने हुन सकिरहेको छैन । ‘दी इन्टरनेसनल इन्स्टिच्युट फर दी युनिफिकेसन अफ प्राइभेट’ ले चोरिएका तथा अवैधरुपमा निर्यात भएका सांस्कृतिक वस्तुलाई सम्बन्धित मुलुकमा फिर्र्ता गर्न भन्दै सम्मेलनसमेत आयोजना गरेको थियो । संस्कृतिविद् जगमान गुरुङ चोरी भएका सम्पदा सम्बन्धित मुलुकमा नै फिर्ता हुनुपर्ने बताउँछन् ।

प्रकाशित मिति : November 21, 2019 at 7:31 am