हनुमानढोका दरबार क्षेत्रमा पार्किङ : सर्वसाधारण टेर्दैनन्, महानगरले सक्दैन
४ मंसिर, काठमाडौं । ऐतिहासिक एवं पुरातात्विक सम्पदा वसन्तपुर-हनुमानढोका दरबार क्षेत्रको खुला पार्किङ तथा सवारी आवागमन निषेध अभियान काठमाडौँ महानगरपालिकाका लागि फलामको चिउरा जस्तै भएको छ । जोखिमपूर्ण पुरातात्विक सम्पदामा सूचीकृत उक्त क्षेत्रमा खुला पार्किङ र सवारी आवागमन हटाउन महानगरपालिकाले गरेको पटक-पटकको प्रयास असफल भएको छ ।
सम्पदा संरक्षणकर्मी र स्थानीयले सम्पदाभित्रको पार्किङ तथा सवारी आवागमन रोक्न माग गर्दै आएका छन् । महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले मंसिर पहिलो साताबाट पार्किङ र आवागमन पूर्ण निषेध गरिने प्रतिबद्धता व्यक्त गरे पनि अझै रोकिएको छैन । ‘दरबार क्षेत्रमा सवारी निषेधको प्रयास पटक-पटक भएकै हुन्,’ उनले भने, ‘सफल हुन सकेन ।’
यसअघि कात्तिक अन्तिम साता काठमाडौँ महानगरपालिकाका नगर प्रहरी प्रमुख धनपति सापकोटाले वसन्तपुर हनुमानढोका दरबार क्षेत्रको खुला पार्किङ हटाउनुका साथै सवारी आवागमन निषेध गरिएको जनाएका थिए । तर, बिहान ७ बजेअघि र साँझ ७ बजेपछि भने पार्किङ र आवागमन यथावत रह्यो, निषेधित क्षेत्र हुन नसकेको गोरखापत्र दैनिकमा खबर छ ।

झोँछेबाट वसन्तपुर, हनुमानढोका र सानो पशुपति मन्दिरबाट हनुमानढोका वसन्तपुर दरबार क्षेत्रमा सवारी आवागमन र पार्किङ सेवा सधैंका लागि निषेध गर्नुपर्ने माग छ । सवारीकै कारण विश्व सम्पदा क्षेत्र खतरामा पर्दै गएको पुरातत्व विभागले जनाएको छ ।
प्रकाशित मिति : November 20, 2019 at 7:47 am







