१० जेष्ठ २०८३, आइतबार | Sun May 24 2026

डोजर प्रकरण : चालक जेल चलान

२ मंसिर, बैतडी । जिल्ला अदालत बैतडीले दशरथचन्द नगरपालिका ९, ग्वाल्लेकमा सडक निर्माणका क्रममा डोजरले महिला हुत्याउने चालकलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । जिल्ला न्यायधीश ईश्वरीप्रसाद भण्डारीको एकल इजलासले डोजर चालक किशोर बोहोरालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।

यस्तै अदालतले चालक बोहोरालाई डोजरले हुत्याउन उक्साउने डोजर मालिक भानी जोशी, स्थानीय भोजराज जोशी र धर्मानन्द जोशीलाई जनही ५० हजार धरौटीमा रिहा गर्ने आदेश दिएको छ ।

गत कात्तिक ४ गते ग्वाल्लेकको चिलाउनेमा सडक निर्माणका क्रममा स्थानीय गौरी जोशीलाई डोजरले हुत्याएको थियो । सडक निर्माण गर्ने र सडक निर्माण गर्न नदिने पक्षबीच विवाद हुँदा झडपसमेत भएको थियो ।

आफूहरुको जमीनमा जबरजस्ती डोजर चलाएको भन्दै सडक रोक्ने पक्षले अवरोध गर्दा डोजर चालकले महिलालाई हुत्याएको थियो । चालक बोहोरालाई प्रहरीले कात्तिक ४ गते नै पक्राउ गरेको थियो ।

प्रकाशित मिति : November 18, 2019 at 9:00 am