१० जेष्ठ २०८३, आइतबार | Sun May 24 2026

अब ‘डिजिटल’ सीमास्तम्भ, सारिएको खण्डमा पनि पुरानै ठाउँमा राख्न सकिने

मंसिर, काठमाडैं । नेपाल र भारतको सीमा निर्धारणका लागि गाडिएका सीमास्तम्भको अद्यावधिक नापी विभागसँग तयारी अवस्थामा छ । प्रत्येक स्तम्भको अवस्थिति र निर्देशाङ्कलगायतको विस्तृत विवरणसहित ‘डाटाबेस’ तयार पारिएको छ । त्यस्तो अद्यावधिक अब ‘डिजिटल’ रूपमा हुनेछ ।

नापी विभागका महानिर्देशक प्रकाश जोशीले नम्बरअनुसार प्रत्येक सीमास्तम्भको सम्पूर्ण तथ्यांकसहितको ‘डाटाबेस’ विभागसँग रहेको जानकारी दिए ।

नक्साको कोर्डिनेट (अवस्थिति) भएको हुँदा पिलर सार्ने सम्भावना हुन नसक्ने र सारिएको खण्डमा पनि पुरानै ठाउँमा राख्न सकिने अवस्थामा नापी विभाग रहेको पनि उनले जानकारी दिए । नापी विभाग प्राविधिक रूपमा आवश्यक सबै तथ्याङ्क र तथ्यसहित रहेको पनि उनले स्पष्ट पार्दै उनले भने, “डिजिटल डाटाबेस तयार छ ।”

लगत लिने क्रम जारी
सन् २०१४ पछि सुस्ता र कालापानीबाहेकको क्षेत्रमा रहेका जम्मा ८ हजार ५ सय ५३ पिलरको लगत लिने काम अगाडि बढाइएको गोरखापत्र दैनिकले खबर प्रकाशन गरेको छ । दुई देशको सीमा कार्यदल समूहले यसको काम गरिरहेको छ ।

सन् २०१९ सम्म सम्पूर्ण पिलरको लगत लिने काम सम्पन्न गर्न समयसीमा तोकिएको थियो । तोकिएको समय सीमासम्म काम सक्ने अवस्था नभएको हुँदा यसका लागि सन् २०२१-२२ सम्मका लागि समयसीमा तोकिएको छ । यसको काम सकेपछि आफ्ना÷आफ्ना सरकारलाई प्रतिवेदन बुझाउनुपर्नेछ ।

नापी विभागका सूचना अधिकारी दामोदर ढकालले लगत लिने काम निरन्तर अगाडि बढिरहेको जानकारी दिँदै भने, “४ हजार पिलरको लगत लिने काम भइसकेको छ । २ हजार ४ सय पिलर ठूला नदीमा पर्छन् ।” सीमाक्षेत्रमा साना-ठूला गरी ५७ नदी छन् । ठूला नदीको धारमा पर्ने पिलर गाड्न गाह्रो हुने स्पष्ट गर्दै उनले भने, “ठूला नदीमा समस्या देखिएको छ ।”

प्रकाशित मिति : November 17, 2019 at 8:37 am