प्राविधिक शिक्षालाई सहयोग !
३० कात्तिक, पाल्पा । प्राविधिक शिक्षा अध्ययनका लागि पाल्पाली समाज पोखराले पाल्पाका ८१ विद्यार्थीलाई लगानी गर्ने भएको छ । जिल्लाका २ नगरपालिका र ८ गाउँपालिकाका ८१ विद्यार्थीलाई प्राविधिक शिक्षामा लगानी गर्ने भएको समाजले जनाएको छ ।
स्वास्थ्य समूह, कृषि, भेटनरी, इञ्जिनीयरिङ र होटल व्यवस्थापन विषय अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न लागिएको पाल्पाली समाज पोखराका अध्यक्ष कुलप्रसाद घिमिरेले जानकारी दिए । ‘सम्बन्धित वडा कार्यालयको सिफारिसमा छात्रवृत्तिका लागि छनौट गरिने र छनौट भएका विद्यार्थीले जुनसुकै स्थानमा गएर पनि अध्ययन गर्न सक्नेछन्,’ उनले भने ।

एक विद्यार्थीलाई ५० हजारका दरले जिल्लामा रहेका ८१ वडामा एक/एक जनालाई छनोट गरी दिइने छात्रवृत्ति दुई किस्तामा प्रदान गरिनेछ । समाजले पाल्पासँगै गोरखा, गुल्मी, कपिलवस्तु, तनहुँ र कास्कीमा पनि कार्यक्रम सञ्चालन गर्न लागेको जनाएको छ । रम्भादेवी छात्रवृत्ति कार्यक्रममार्फत शिक्षामा लगानी गर्ने भएको हो ।
पाल्पा मूल घर भई पोखरामा बसोबास गर्दै आएका पाल्पालीको साझा संस्था पाल्पाली समाज पोखराले उद्योगपति एवं समाजसेवी हरिप्रसाद पाण्डेले स्थापना गरेको मातृ सेवा प्रतिष्ठान जननीमार्ग ललितपुरको समन्वयमा छात्रवृत्ति प्रदान गरिने जनाएको छ ।
पाल्पाली समाज पोखराले नेपाल भ्रमण वर्षलाई मध्यनजर गर्दै पाल्पाको पर्यटकीयस्थलको प्रचारका लागि लेकसाइडमा डिजिटल बोर्ड राख्ने र पाल्पाका मौलिक तथा कलात्मक उत्पादनको बजारीकरण र संस्कृतिको पहिचानका लागि पाल्पा हाउस स्थापना गर्ने भएको छ । छात्रवृत्तिका सम्बन्धमा पाल्पाली समाज पोखराको टोलीले जिल्लाका दशवटै स्थानीय तहसँग छलफल कार्यक्रम गरिरहेको छ । –रासस
प्रकाशित मिति : November 16, 2019 at 9:21 am







