यातायातमा सेवाग्राहीलाई सास्ती, बिचौलियालाई मस्ती !
२९ कात्तिक, काठमाडौं । यातायात व्यवस्था कार्यालय एकान्तकुना बिचौलियाको घेराबन्दीबाट अझै उम्किन सकेको छैन । यहाँ सेवाग्राहीलाई सास्ती, बिचौलियालाई मस्ती भइरहेको छ ।
सीधा बाटो गएर काम बन्ने अवस्था भेटिँदैन । अनि सेवाग्राही बाध्य हुन्छन् दलालको सहयोग लिन । सेवाग्राही जब दलालको सहयोग लिन्छन् अनि उनीहरू लाइन बस्नु पर्दैन, सीधै काउन्टरमा प्रवेश पाउँछन् । यातायात व्यवस्था कार्यालयहरू भक्तपुर र सानो भर्याङमा थप भएपछि पहिलाको तुलनामा सेवाग्राहीको भीड आधा घटेको छ तर सेवाग्राहीलाई दिने सास्ती र ठगिने क्रम भने अझै नघटेको गोरखापत्र दैनिकले खबर छापेको छ ।
प्रवेशद्वारमा बसेर सेवाग्राहीलाई विगत १२ वर्षदेखि सहयोग गर्दै आएको बताउने ५० वर्षीय केशव भन्छन्, ‘मान्छेले छिटो काम बनाउन चाहन्छन् । धेरै समय लाइन बस्न चाहँदैनन् । एउटै काममा पटकपटक धाइरहन पनि चाहँदैनन् । बरु २-४ सय रुपैयाँ खर्च गरेरै भए पनि छिटो काम बनोस् भन्ने चाहन्छन्, त्यस्ता व्यक्तिलाई हामीले सहयोग गरेका हौँ ।’

कार्यालय खुल्ने समयभन्दा ३ घण्टाअगावै सेवाग्राही टोकन लिन बस्ने गर्छन् । त्यो टोकन लिइदिने, लाम बस्न नपर्ने वातावरण बनाउने काम बिचौलियाले गरेका छन् । सर्वसाधारणले प्रक्रियागत रूपमा काम गर्न सक्ने अवस्था यातायात व्यवस्था कार्यालयमा छैन । तर अनलाइन प्रणालीलले गर्दा भीड कम भएको अधिकारीहरूको दाबी छ ।
कार्यालय निकै अस्तव्यस्त देखिन्छ । वरिपरि भीडभाड छ । कोलाहल छ । धुलोधुवाँ र अव्यवस्थित पार्किङले मान्छे धेरै समय बस्नसक्ने अवस्था छैन । लामको व्यवस्थापन छैन, महिला पुरुषको लाम एउटै छ । कार्यालयका संरचनाहरू महिला र अपांगतामैत्री देखिँदैन । शौचालय अत्यन्त दुर्गन्धित छ । भर्याङका भित्तामा गुट्खा चपाएर थुकिएको छ । सरसफाइको कुनै प्रयास नै छैन ।
प्रकाशित मिति : November 15, 2019 at 6:59 am







