ठेकेदारप्रति जनआक्रोश !
२८ कात्तिक, काठमाडौं । सडक विस्तार अलपत्र पारिएपछि नगरकोटका बासिन्दाले निर्माण व्यवसायीको फोटो बिजुलीको पोल र सवारी साधनमा टाँसेर विरोध गरेका छन् । ठेक्का लिएर तीन पटक म्याद थप गर्दा पनि काम नसकिएपछि उनीहरूले दबाब दिन शैलुङ कन्स्ट्रक्सन कम्पनी प्रालिका अध्यक्ष शारदाप्रसाद अधिकारीको फोटो मंगलबार पोल र सार्वजनिक तथा निजी सवारी साधनमा टाँसेका हुन् ।
नगरकोट आउजाउ गर्ने मुख्य सडक वर्षौं अलपत्र बनाइँदा पर्यटन व्यवसायमै असर परेपछि ठेकेदारको फोटो टाँसेर विरोध गर्नुपरेको स्थानीयको भनाइ छ । स्थानीयले राजकुमार लामिछानेको संयोजकत्वमा २ सय ५१ सदस्यीय नगरकोट सडक पीडित संघर्ष समिति गठन गरेरसमेत आन्दोलन गरिरहेका छन् । शैलुङका अध्यक्ष अधिकारी नेकपाका अध्यक्ष पुष्पकमल दाहालका घरबेटी हुन् ।
आरामाली इन्फ्रा पावर लिमिटेड र शैलुङ कन्स्ट्रक्सन कम्पनी प्रालिले सन् ०१४ जुन ५ मा दुई वर्षभित्र सक्ने गरी सडक विस्तारको सम्झौता गरेका थिए । तीन पटक म्याद थप गर्दा उनीहरूले बल्ल ६५ प्रतिशत काम सकेको भक्तपुर–नगरकोट–सिपाघाट सडक आयोजना प्रमुख जगत प्रजापतिले बताए । ठेक्का लागेको ३० महिनासम्म रूख काट्न ढिलाइ भएको जस्ता समस्या देखाएर निर्माण व्यवसायीले सम्झौताको म्याद थप गराएका थिए । पछिल्लोपटक थपिएको म्याद सन् ०१८ जुनमै सकिएको छ । निर्माण व्यवसायीले अहिले पनि म्याद थपको बाटो खोजिरहेको कान्तिपुर दैनिकले समाचार छापेको छ ।
‘एक्जिम बैंक इन्डिया’ को ऋण सहयोगमा ३१ करोड ५२ लाख ९२ हजार २ सय २० रुपैयाँ लागतमा करिब १६ किलोमिटर लामो कमलविनायक भत्केको पाटी–नगरकोट सडक विस्तार गर्ने सम्झौता गरिएको थियो । साविक साढे ३ मिटरको सडकलाई बढाएर ७/७ मिटर तथा मुख्य घुम्तीमा ११ मिटरसम्म फराकिलो बनाउने, कालोपत्र गर्ने र नाली–ढलको व्यवस्थापन गर्ने गरी ठेक्का लगाइएको हो । रिटेनिङ वाल तथा नाली निर्माण र कमलविनायक–बाँसबारीसम्म कालोपत्र गरिएको छ । लापरबाहीका कारण अधिकांश स्थानमा नाली भत्किएको छ ।
कालोपत्र उप्किएर ठाउँ-ठाउँमा खाडल परेको छ । विस्तारका नाममा मुख्य सडक अलपत्र छाडिँदा नगरकोट–नाल्दुम आउने पर्यटकले दु:ख पाएको र व्यवसाय धराशायी बनेको पर्यटन व्यवसायीको गुनासो छ । ‘सडक घाम लागे धुलाम्य, पानी परे हिलाम्य हुन्छ । सडक हेरेर पर्यटकले गाली गर्छन्,’ नगरकोट–नाल्दुम पर्यटन विकास समितिका उपाध्यक्ष धनबहादुर लामाले भने, ‘तत्काल सडक विस्तार नसकिए भ्रमण वर्ष २०२० लाई असर पर्छ ।’
सडक विस्तारको काम सुस्त भएपछि स्थानीयले विरोधको आवाज उठाउँदै आएका थिए । संघीय संसद्, प्रतिनिधिसभा विकास तथा प्रविधि समितिले गत साउनमा अनुगमनसमेत गरी तत्काल काम गर्न निर्देशन दिएको थियो । तर पनि ठेकेदारले पैसा नभएको भन्दै झारा टार्ने पाराले काम गर्दै आएको स्थानीयको भनाइ छ । सडक आयोजना प्रमुख प्रजापतिले भने ठेकेदारले मंगलबारबाट काम नियमित रूपमा गरिरहेको बताए ।
प्रकाशित मिति : November 14, 2019 at 8:06 am







