१३ जनाविरुद्ध सम्पत्ति शुद्धीकरणमा अनुसन्धान
२८ कात्तिक, काठमाडौं । निर्माण सामग्री गिट्टी, ढुङ्गा, बालुवा र इँटा डिपो सञ्चालनका नाममा अवैध तथा अकुत सम्पत्ति कमाएको अभियोगमा १३ जनाविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान सुरु गरिएको छ । घर तथा भवन निर्माण सामग्री मापदण्डभन्दा कम तौलको दिएर सर्वसाधारणलाई ठगी गरेको अभियोगमा महानगरीय प्रहरी अपराध महाशाखाले कात्तिक १ गते काठमाडौँका विभिन्न स्थानबाट २३ सवारी, १३ सञ्चालक र २३ चालकलाई पक्राउ गरेको थियो ।
एउटा मिनी ट्रकमा सय क्युफिट मापदण्डअनुसारको निर्माण सामग्री पठाउनुपर्नेमा डिपो सञ्चालकहरूले ८२ क्युफिट मात्र पठाउने गरेको उजुरीका आधारमा ठगी मुद्दाका अतिरिक्त सम्पत्ति शुद्धीकरणमा अनुसन्धान सुरु गरिएको गोरखापत्र दैनिकले समाचार छापेको छ ।
अपराध महाशाखाका अनुसार, डिपो सञ्चालकहरू पञ्चेश्वर स्वयम्भूका प्रमुख महेश्वर श्रेष्ठ, रञ्जित एन्ड रञ्जितका रञ्जित थापा, धनेश्वर महादेवका सन्तोष कुँवर, खाँडादेवीका प्रकाश भण्डारी र कामनाका बद्री गिरीको सम्पत्ति छानबिनका लागि अनुसन्धान सुरु गरिएको हो ।
त्यस्तै, शुभकामनाका सञ्चालक सुरेन्द्र केसी, महालक्ष्मीका लक्ष्मण श्रेष्ठ, बज्रका वीरेन्द्र कुइँकेल, गरिमाजका श्याम मगर, जेबीएसका सन्देश लामा र माधव पण्डितविरुद्ध थप कानुनी प्रक्रिया अगाडि बढाइएको महाशाखा प्रमुख सहकुल थापाले बताए ।

प्रकाशित मिति : November 14, 2019 at 7:56 am







