१० जेष्ठ २०८३, आइतबार | Sun May 24 2026

डा. गोविन्द केसीको स्वास्थ्य खस्कँदै, समर्थकद्वारा सरकारी सवारीसाधनमा रोक

कात्तिक २४, डडेल्धुरा । डडेल्धुरामा अनशनरत प्रा.डा. गोविन्द केसीको स्वास्थ्य अवस्था खस्कँदै गएको छ । स्वास्थ्य अवस्था जटिल भएसँगै उनलाई थप उपचारका लागि डडेल्धुराबाट जिल्लाबाहिर रिफर गर्ने तयारी गरिएको छ ।

डा. केसीलाई कैलाली वा काठमाडौं रिफरको तयारी भइरहेको छ । अनशनको पाँचौं दिन अस्ति (शुक्रबार) स्वास्थ्यमा समस्या आएपछि उनलाई डडेल्धुरा अस्पतालमा भर्ना गरिएको थियो । अनशन बसेको आज उनको सातौं दिन हो ।

केसीको पिसाबमा क्रियटिनिन बढेको र चिनीको मात्रा घटेको छ । यस्तै शरीरमा पानीको मात्रा घटेको, कमजोर हुँदै गएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. जितेन्द्र कँडेलले जानकारी दिए । उनको उपचारमा विशेषज्ञसहितको चिकित्सक टोली निरन्तर खटिएको छ ।

यसअघि इलाममा १६औँ अनशन बस्दा डा. केसीले जिल्ला छाड्न मानेका थिएनन् । डडेल्धुरा पनि उनले सजिलै छाड्न मान्ने अवस्था नरहेको आकलन गरिएको छ ।

दिनहुँ प्रदर्शन, सरकारी सवारीसाधन चल्न रोक

केसीका मागको समर्थनमा डडेल्धुरामा दिनहुँजसो प्रदर्शन भइरहेका छन् । हिजो शनिबार सदरमुकाममा सिठी जुलुस निकालिएको थियो । आज (आइतबार) अनशनकै समर्थनमा उनका समर्थकहरुले सरकारी सवारीसाधन चल्न रोक लगाएका छन् । बिहान ९ देखि साँझ ४ बजेसम्म सरकारी नम्बरका सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो ।

साथै, डडेल्धुरा सदरमुकाम बागबजार क्षेत्रमा दिउँसो साढे १ देखि साढे २ बजेसम्म एक घण्टा पसलहरु बन्द गरिने नागरिक आन्दोलन संघर्ष समितिले जनाएको छ । यसैगरी आइतबार साँझ मसाल जुलुस निकाल्ने तयारी छ । सातबुँदे मागअघि सार्दै अस्पतालमै उनले आफ्नो अनशनलाई जारी राखेका छन् ।

प्रकाशित मिति : November 10, 2019 at 9:33 am