१० जेष्ठ २०८३, आइतबार | Sun May 24 2026

किन गरिन्छ तुलसी-दामोदरको विवाह ? धुमधाम मनाइँदै हरिबोधिनी एकादशी

२२ कात्तिक, काठमाडौं । हिन्दू धर्मावलम्बीले आज हरिबोधिनी एकादशी धुमधाम साथ मनाइरहेका छन् । कार्तिक शुक्ल एकादशीका आजै भएकाले तुलसीको पूजा आराधनासँगै मनाइने परम्परा छ । हरिबोधिनी एकादशीका दिन तुलसीसँग भगवान् दामोदर (विष्णु) को विवाह र विशेष पूजा गरी मनाइन्छ । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीर सागरमा सुतेका विष्णु आज ब्युँझने भएकाले यो एकादशीलाई हरिबोधिनी वा प्रबोधिनी एकादशी पनि भनिन्छ ।

हरिशयनीदेखि हरिबोधिनी एकादशीका दिनसम्म ४ महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा आराधना गर्छन् । विष्णु क्षीर सागरमा सुतेकाले यी ४ महिना विवाह व्रतवन्धजस्ता मांगलिक कार्य नगरिने परम्परा छ । यस समयमा खोला, नदी नालामा बाढी पहिरो आउने र सर्पजस्ता जीवको भयका कारण यात्रा नगर्नु शुभ मानिन्छ । हरिशयनी एकादशीका दिन घरघरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर सिँगारी फूल मालाले सजाएर विष्णुको तुलसीसँग विवाह गरिन्छ ।

तुलसीको मठनजिकै विष्णुको प्रतीकका रुपमा निगालाको लिंगो गाडेर विधिपूर्वक पूजा गरिन्छ । कात्तिकभर सबै देवदेवी तुलसीमै निवास गर्छन् भन्ने मान्यता छ । नेपाली समाजमा तुलसीको मठ हुने घरलाई तीर्थ समान मानिन्छ । आजकै दिन भगवान् विष्णुको मूर्तिलाई रथमा राखी यात्रा गराउने चलन पनि छ ।

आजको एकादशी व्रतले हजार अश्वमेध यज्ञ तथा राजसूय यज्ञ गरे बराबरको फल पाइने शास्त्रीय मान्यता छ । आज उपत्यकाका चार नारायण, भक्तपुरको चाँगुनारायण, काठमाडौँका शेष नारायण, इचँगुनारायण र विशङ्खुनारायण स्थानमा विशेष मेला लाग्छ । यहाँ जान नसक्नेले काठमाडौँको उत्तरमा रहेको बूढानीलकण्ठ नारायणस्थानको दर्शन गर्दा चार नारायणको दर्शन र पूजा गरे बराबरको फल पाइने विश्वास गरिन्छ ।

प्रकाशित मिति : November 8, 2019 at 9:01 am