सुकुटे बस दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या १९ पुग्यो, घाइतेकाे धुलिखेल अस्पतालमा उपचार हुँदै
१८ कात्तिक, काठमाडौँ । सिन्धुपाल्चोकको सुकुटेमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १९ पुगेको छ। आइतबार दिउँसो सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–९ अरनिको राजमार्गस्थित सुकुटेमा भएको यात्रुबाहक बस दुर्घटनामा मृत्यु हुनेको संख्या १९ पुगेको हो। सुनकोशी नदीले बगाएर ल्याएको अवस्थामा आज सिन्धुलीको नेपालथोकमा एकजना र अर्का एकको शव घटनास्थलबाट केही तलमात्रै भेटिएको छ।

आइतबार मृत्यु भएका १७ जनाको सनाखत भए पनि आज शव भेटिएका दुई जनाको भने परिचय खुल्न नसकेको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ। दुर्घटनामा परि घाइतेमध्ये ५२ जनाको उपचार धुलिखेल अस्पतालमा भइरहेको छ भने दुई जनालाई थप उपचारका लागि बनेपास्थित शिर मेमोरियल अस्पतालमा ‘रिफर’ गरिएको प्रहरीले जनाएको छ।
दोलखाको मागा देउरालीबाट काठमाडौंका लागि छुटेको बा२ख ७२४५ नम्बरको यात्रुबाहक बस सुनकोशी नदीमा खसेको थियो। बसमा ६० भन्दा बढी यात्रु सवार रहेको अनुमान गरिएको छ। बस सडकबाट १०० मिटर तल सुनकोसी नदीमा खसेर दुर्घटना भएको हो।
प्रकाशित मिति : November 4, 2019 at 11:40 am









