नेपाल-युएई संयुक्त कार्यसमूह बैठक आजदेखि काठमाडाैँमा
१७ कात्तिक, काठमाडाैँ । नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) बीच भएको श्रम समझदारी (एमओयू) को कार्यान्वयनमा सहजीकरण गर्न दुवै देशका प्रतिनिधि सम्मिलित संयुक्त कार्य समूह (जेडब्लुसी) को पहिलो बैठक आदेखि काठमाडौंमा सुरु हुँदैछ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले दुई देशबीच भएको समझदारीको प्रभावकारी कार्यान्वयन, कामदारको भर्ना, रोजगारी र फिर्तासम्बन्धी विषयमा लाग्ने आइटमगत लागत निर्धारण गर्नेलगायतका प्राविधिक विषयलाई दुई दिनसम्म चल्ने बैठकले टुङ्ग्याउने जनाएको छ।
बैठकले श्रम समझदारीलाई कार्यान्वयन गर्न आवश्यक प्राविधिक विषयलाई अन्तिम रूप दिने मन्त्रालयका उपसचिव दीपक ढकालले जानकारी दिनुभयाे । उहाँका अनुसार बैठकले एमओयू कार्यान्वयनको ‘मोडालिटी’ टुङ्गो लगाउनेछ। बैठकमा छ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व श्रम मन्त्रालयका सहसचिव डा रामप्रसाद घिमिरेले गर्नुहुनेछ भने युएईका तर्फबाट त्यहाँका मानव संशाधन मन्त्रालयको अन्तर्राष्ट्रिय सम्बन्ध महाशाखाका निर्देशक अब्दुल्लाह अल नुवाइमीले नेतृत्व गर्नुहुनेछ ।

बैठकमा सहभागी हुन युएईको प्रतिनिधिमण्डल हिजै काठमाडौं आइपुगेको छ । बैठकले प्राविधिक विषय टुङ्गो लगाएपछि नयाँ श्रम समझदारीका प्रावधानअनुसार नेपाली श्रमिकले सेवा सुविधा प्राप्त गर्नेछन् । आबुधावी डायलगको पाँचौँ मन्त्रिस्तरीय बैठकमा सहभागी हुन गत असोज अन्तिम साता युएई पुगेका श्रममन्त्री गोकर्ण बिष्ट र युएईका मानव संशाधनमन्त्री नासेर विन थानी अल हम्लीबीच दुबईमा भएको छलफलमा समझदारीपत्रमा उल्लेख भएअनुसार नोभेम्बर पहिलो साता उक्त बैठक बस्ने सहमति भएको थियो।
प्रकाशित मिति : November 3, 2019 at 9:43 am









