बसको ठक्करबाट कम्युनिष्ट नेता तथा पूर्व सांसद रामलखन महतोको मृत्यु
१५ कात्तिक, धनुषा । बसको ठक्करबाट कम्युनिष्ट नेता तथा पूर्व सांसद रामलखन महतोको मृत्यु भएकाे छ । धनुषाको बटेश्वर गाउँपालिका –१, धुमासानबाट छिरेश्वरनाथ नगरपालिकाको महेन्द्रनगरमा रहेको आफ्नो घर साइकलमा आउँदै गर्दा जनकपुर–ढल्केबर सडकखण्डको नक्साझीजमा बसले ठक्कर दिँदा ६५ वर्षीय पूर्व सांसद महतोको ज्यान गएको हो । बसको ठक्करबाट गम्भीर घाइते भएका महतोको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटाेमै मृत्यु भएकाे हाे ।

महताे विक्रम संवत २०५१ सालको मध्यावधि चुनावमा नेकपा एमालेबाट धनुषा क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए । जनयुद्धकालमा एमाले छाडेर तत्कालीन नेकपा माओवादीमा प्रवेश गरेका महतो पछिल्लो समय मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीमा सक्रिय थिए ।
महताेलाई ठक्कर दिने बस र बसका चालकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय सखुवा, महेन्द्रनगरले जनाएको छ । महताेकाे शव पोस्टमर्टमका लागि प्रादेशिक अस्पताल, जनकपुर लगिएको प्रहरीले जनाएकाे छ ।
प्रकाशित मिति : November 1, 2019 at 6:16 pm









