भीआईपी जुवाडे छाेड्न सर्वोच्चले मानेन, बिहीबार पुनः अदालत उपस्थित गराउन आदेश
१३ कात्तिक, काठमाडौँ । काठमाडाैँकाे महाराजगञ्जबाट शनिबार पक्राउ परेका ६ जना जुवाडेलाई बिहीबार पुनः उपस्थित गराउन अदालतले आदेश दिएको छ । आइतबार प्रहरीविरुद्ध ६ जना भीआईपी जुवाडेले बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकामा सोमबार र बुधबार इन्द्रबहादुर श्रेष्ठ, शम्भुबहादुर बुढाथोकी लगायतकाे पुनः अर्को रिट परेपछि सबै जनालाई सँगै उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएको हो ।
सर्वोच्चका न्यायाधीश पुरुषोत्तम भण्डारीको इजलासले बुधबार सबै निवेदनलाई ‘साथमै राख्न’ आदेश दिएको हो । आदेशमा भनिएको छ, ’… बन्दीप्रत्यक्षीकरणका निवेदनहरु साथै राखि एकैपटक हेर्नुपर्ने देखिएकाले प्रस्तुत निवेदन समेत सो निवेदनहरुसँग साथै राखि बन्दीहरुलाई समेत उपस्थित गराई नियमानुसार गरी पेश गर्नू ।’

शनिबार राति छापा मारी प्रहरीले क्यासिनो किङका रुपमा चिनिएका बले भनिने बलराम सापकोटासहित सोभित सिलवाल, प्रदीप बोगटी, रामकृष्ण केसी, इन्दु श्रेष्ठ, रञ्जन राजबंशी, सीताराम खड्का, रोशन तामाङ, राम तामाङ, कृष्ण भण्डारी, सुमन गुरुङ, सुमन अग्रवाल, सोदेल कार्की, पवन अग्रवाल, पवित्रकुमार कार्की, मुक्ति लामा, भक्त तामाङ, शम्भु बुढाथोकी, प्रेम थापामगर, अशोक श्रेष्ठ, हलामप्रसाद पराजुली, बुद्ध लामा, थम्कु शेर्पा र नवाङ लामालाई पक्राउ गरेको थियाे ।
उनीहरुको साथबाट दुई करोड ६७ लाख नगद, बैंक अफ काठमाडौंको ३ लाख रुपैयाँको चेक, ३२ थान कौडा र ४ बुक तास बरामद भएको थियो । बरामद भएका हजार र ५ सय रुपैयाँका नोट गन्न प्रहरीलाई करिब ३ घन्टा लागेको थियो । पक्राउ परेका २४ जनाविरुद्ध जुवा ऐनअन्तरगत मुद्दा चलाउने प्रहरी तयारी छ । बिहीबार अदालत खुलेपछि कानून बमोजित पक्राउ परेकामाथि अनुसन्धान गर्न म्याद थप गरिने डीएसपी उमेश लम्सालले बताएका छन् ।
प्रकाशित मिति : October 30, 2019 at 5:35 pm









