९ जेष्ठ २०८३, शनिबार | Sun May 24 2026

कैदीबन्दीलाई वडाध्यक्षको खसी

१२ कात्तिक, जुम्ला । कारागारका कैदीबन्दीलाई चन्दननाथ नगरपालिका–५ का वडाध्यक्ष अर्जुनसिंह कठायतले तिहार मनाउन खसी दिएका छन् । चाडपर्व हर्षाेल्लासका साथ मनाऊन् भन्ने उद्देश्यले वडाध्यक्ष कठायतले उनीहरुलाई एउटा खसी प्रदान गर्नुभएको हो । तिहारको भाइटीकाको दिन आज बिहान वडाध्यक्ष कठायतले पत्रकार र प्रहरीको उपस्थितिमा जुम्ला कारागारमा रहेका तीन जना महिलासहित ८४ जना कैदीबन्दीलाई खसी हस्तान्तरण गर्नुभयो । उहाँले रु १२ हजार बराबरको खसी उपलब्ध गराउनुभएको हो ।

खसी बुझ्दै कैदीका चौकीदार खाम्बा रावतले भन्नुभयो, “दशैँ–तिहार आएको गएको थाहा हुँदैन थियो, तर यस वर्ष दशैँ–तिहार दुवै पटक खसी उपहार पाएर कैदीबन्दीहरुले रमाएर दशैँ–तिहार मनाए ।” वडाध्यक्षले कैदीबन्दीलाई तिहारको शुभकामना दिँदै चाडपर्व सबैका लागि समान भएको बताउनुभयो । उहाँले आफूप्रति हीनताबोधको सोचाइ अन्त्य गरी कारागारपछिको जीवन एक उदाहरणीय रुपमा बिताउन सुझाव दिनुभयो ।

यसअघि दशैँमा पातारासी गाउँपालिकाले दशैँ मनाउन खसी प्रदान गरेको थियो । चाडपर्व हर्षोल्लासका साथ मनाउन भन्ने उद्देश्यले गाउँपालिकाले दुई वटा खसी प्रदान गरेको थियो । साथै आवश्यक मसला र नुनतेलका लागि नगद रु तीन हजार पनि उपलब्ध गराएको थियो ।

प्रकाशित मिति : October 29, 2019 at 8:09 pm