९ जेष्ठ २०८३, शनिबार | Sun May 24 2026

‘सुखरात्री’मा झलमल काठमाडाैँ, यसरी भित्राइयो घरघरमा लक्ष्मी (फोटोफिचर)

१० कात्तिक, काठमाडाैँ । आज तिहारको तेस्रो दिन, लक्ष्मीपूजा अर्थात सुखरात्री । आज बेलुकी ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा गरी लक्ष्मीपूजा मनाइएको छ । आज बिहानै घर सफासुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई बोलाउने गरिन्छ । आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, भर्‍याङलगायत ठाउँमा सरसफाइ गरी दीपावली गरिन्छ । लक्ष्मी पूजा गरिने कात्तिक कृष्ण औँसीको रातलाई सुखरात्री पनि भनिन्छ ।

लक्ष्मी पूजाका लागि आज बेलुकी आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म गाईको गोबर र रातोमाटाले लिपपोत गरेर चामलको पीठो र अबीरले लक्ष्मीको पाइला बनाई लक्ष्मी आउने बाटो देखाइन्छ । पाइलैपिच्छे केराको सुत्लो अथवा माटाको पालामा दीप प्रज्वलन गरी झिलीमिली बनाइन्छ । दीपावली गरिसकेपछि पूजा कोठामा दियो, कलश र गणेशसहित लक्ष्मी स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाई विधिपूर्वक लक्ष्मीको पूजा गरिन्छ ।

लक्ष्मीपूजापछि कन्या केटी र छोरी चेलीलाई लक्ष्मीको प्रतीक मानी पूजा गरी दक्षिणासमेत दिने प्रचलन छ । आज घरमा लक्ष्मी पूजा गरेपछि धनदौलत वा अन्य सामान घरबाहिर पठाए लक्ष्मी बाहिर जान्छिन् भन्ने धार्मिक विश्वास छ । लक्ष्मी पूजा बेलुकी गरी मध्यरातमा घरका नारीले नाङ्लो ठटाएर ‘लक्ष्मी र धनधान्यको आगमन होस्’ भनी कामना गर्ने शास्त्रीय विधि रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष रामचन्द्र गौतमले जानकारी दिनुभयो । यस्तै आज बेलुकी समूह बनाई घरघरमा भैलो खेल्ने चलन छ । भैलो खेल्न आउनेलाई दिइने दान कात्तिकको दान भएकाले नदिएमा राम्रो नहुने र दिएमा पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । तस्बीरहरूः प्रदिवराज वन्त/रासस र सामाजिक सञ्जाल

प्रकाशित मिति : October 27, 2019 at 9:00 pm