शैलेन्द्र सिंखडाको प्रोपोगाण्डा समाप्त, सदस्य नै नरहेको व्यक्ति कसरी निकालिन्छ ? (विज्ञप्तिसहित)
१० कात्तिक, काठमाडाैँ । कवि शैलेन्द्र सिंखडा केहीदिनदेखि भाइरल बने । उनले कम्युनिस्ट सरकरले सिस्नुपानी माथि हस्तक्षेप गरेर अाफूलाइ निकालेको भनेर रोदन सार्वजनिक गरिरहे । सिस्नुपानी नबोल्दा शैलेन्द्र निकालिएछन भन्ने पनि सबैलाइ पर्यो तर अाज सिस्नुपानी बोलेपछि शैलेन्द्रले प्रोपोगाण्डामात्र गरेका हुन भन्ने स्पष्ट भएको छ । सिस्नुपानीका तर्फबाट अध्यक्ष लक्ष्मण गाम्नागेले एक प्रेस विज्ञप्ति निकाल्दै शैलेन्द्रलाइ ननिकालेको बताएका छन । उनले भनेका छन शैलेन्द्र सिस्नुपानी नेपालको सदस्य कहिल्यै पनि नरहनुभएको हुँदा उहाँलाई संस्थाले निश्काशन गर्ने भन्ने प्रश्नै हुँदैन ।

यस्तो छ सिस्नुपानी नेपालको प्रेस वक्तव्य
नेपाली सञ्चारमाध्यमहरूमा हास्यव्यङ्ग्य कवि शैलेन्द्र सिंखडालाई “माथिको दवावमा” सिस्नुपानी देउसीबाट निस्कासन गरिएको भन्ने समाचारहरू आएका सन्दर्भमा हाम्रो ध्यानाकर्शष भएको छ । यस सम्वन्धमा हामी जानकारी गराउन चाहन्छौँ, कवि शैलेन्द्रजी सिस्नुपानी नेपालको सदस्य कहिल्यै पनि नरहनुभएको हुँदा उहाँलाई संस्थाले निश्काशन गर्ने भन्ने प्रश्नै हुँदैन ।
सिस्नुपानी नेपालले हास्यव्यङ्ग्यात्मक देउसी आयोजना गर्न थालेको २२ वर्ष भएको र श्री सिंखडा २०७३ र २०७४ सालमा जम्मा दुईपटक मात्र हाम्रो देउसीमा सहभागी हुनुभएको हो । हामीले नेपाल प्रज्ञा प्रतिष्ठानसँग सहकार्य गर्ने क्रममा प्रज्ञाका तर्फबाट पनि केही कार्यक्रम समावेश गर्ने सहमति भए अनुसार त्यहाँको कर्मचारी भएको हैशियतमा प्रतिष्ठानले नै उहाँलाई प्रज्ञा–सिस्नुपानी देउसीमा सहभागी गराएको हो । प्रज्ञाबाट अवकास भएका कारण गत वर्षदेखि नै उहाँ सिस्नुपानी देउसीमा सहभागी हुनुहुन्न । तर यो वर्ष आएर सिस्नुपानीले देउसीमा सहभागी गराएन भनेर वक्तव्यवाजी गर्नु र काल्पनिक आरोपहरू लगाउनुको कुनै अर्थ छैन । संस्थाले आयोजना गर्ने कार्यक्रममा कसलाई सहभागी गराउने वा नगराउने कुरा संस्थाको अधिकारको कुरा हो ।
कवि जस्तो वौद्धिक व्यक्तिले कुनै मन्चबाट कविता सुनाउन नपाएकै कारण संस्थालाई गाली गर्नु वा भ्रामक प्रचारप्रसार गर्नु दुखद् कुरा हो । सिंखडाजीलाई कसैको दवावमा सभागिताबाट बन्चित गरिएको होइन । सिस्नुपानी नेपाल कसैको दवाव वा प्रभावमा परेर आफ्नो सिद्धान्त र निष्ठाबाट विचलित हुने संस्था होइन । निरंकुशतन्त्रका विरुद्ध समेत लडेर आएको संस्था हो । हामी विकृति– विसंगति विरुद्ध निरन्तर काम गर्न प्रतिवद्ध छौँ । हास्यव्यङ्ग्यका नाममा ठाडो गालीगलौज, अश्लिलता, महिलाहरूप्रति अपमान, जातजाति, धर्म, सम्प्रदायमाथि कटाक्ष गर्ने र समाजमा नकारात्मकता फैलाउने गलत परम्परा विरुद्ध संस्थाले स्थापनाकालदेखि नै काम गर्दै आएको छ । हास्यव्यङ््ग्यलाई सभ्य र शालीन बनाउँदै सामाजिक रुपान्तरणमा योगदान गर्ने हाम्रो अठोट छ । हाम्रा लाखौँ शुभचिन्तक पाठक, दर्शक, श्रोता तथा सन्चारजगतप्रति हामी सदा कृतज्ञ छौँ । धन्यवाद । लक्ष्मण गाम्नागे, अध्यक्ष
प्रकाशित मिति : October 27, 2019 at 12:46 pm









