९ जेष्ठ २०८३, शनिबार | Sun May 24 2026

जनगायक जीवन शर्माको छोराको उपचारका लागि सांसद कृष्णकुमार श्रेष्ठद्धारा ५० हजार सहयोग

१० कात्तिक, दमौली । जनगायक जीवन शर्माको छोराको उपचारका लागि तनहुँ क्षेत्र नं १ का सङ्घीय सांसद कृष्णकुमार श्रेष्ठले आर्थिक सहयोग गर्ने घोषणा गर्नुभएको छ । जटिल रोगका कारण त्रिवि शिक्षण अस्पतालमा उपचाररत शर्माका माइला छोरा अमृत आचार्यको उपचारमा सहयोग गर्ने उद्देश्यले सांसद श्रेष्ठले रु ५० हजार आर्थिक सहयोग गर्ने घोषणा गर्नुभएको हो ।

जनताका पक्षमा गीत गाउने वरिष्ठ कलाकार शर्माको परिवारमाथि आइपरेको विपत्मा साथ दिन एक महीनाको तलबवापतको रकम सहयोग गर्न लागेको सांसद श्रेष्ठले जानकारी दिनुभयो ।“जनगायक शर्माको छोराको उपचारका लागि सरकारले पनि गम्भीर भएर सहयोग गर्नुपर्छ”, सांसद श्रेष्ठले भन्नुभयो, “घोषणा गरेबमोजिमको रकम केही दिनभित्रै उपलब्ध गराउँछु ।” शर्माका छोरा अमृतको घाँटीको नलीमा जटिल समस्या देखिएको छ । जनगायक शर्माले आर्थिक अभावका कारण छोराको उपचारमा कठिनाइ भइरहेको बताउनुभयो ।

सांसदमा निर्वाचित भएसँगै सांसद श्रेष्ठले आफ्नो तलबवापतको रकम जिल्लास्थित विभिन्न सङ्घसंस्थालाई उपलब्ध गराउँदै आउनुभएको छ । सांसद श्रेष्ठले विभिन्न विद्यालय, आमा समूह, मठमन्दिर, खानेपानी योजना लगायतलाई आफ्नो तलबवापतको रकम उपलब्ध गराउनुभएको छ ।

प्रकाशित मिति : October 27, 2019 at 10:15 am