१० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026

खानेपानीको क्षेत्रमा दीर्घकालीन महत्त्वका सामूहिक योजना बनाउनुस : खानेपानी मन्त्री मगर

५ कात्तिक, काठमाडौँ । खानेपानी मन्त्री बिना मगरले जनताको आवश्यकतालाई ध्यान दिएर सामूहिक रूपमा योजना निर्माण गर्न कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागले आयोजना गरेको दुई दिने योजना कार्यशाला गोष्ठीको समापन कार्यक्रमलाई सम्बोधन गर्दै खानेपानी मन्त्री मगरले पहुँचको भरमा भन्दा पनि सामूहिक तहमा योजना बनाएर अघि बढ्न निर्देशन दिनुभएको हो । उहाँले योजना छनौट गर्दा खानेपानीको अति आवश्यकता भएको क्षेत्रलाई ध्यान दिनुपर्ने बताउनुभयो ।

“मन्त्रालय र विभागमा आएर योजना माग्नेलाई होइन जटिलतम आवश्यकता हेरेर योजना बनाउनुस ।” उहाँले भन्नुभयो, ” कतिपय योजनाहरु हचुवाको भरमा आएका छन् । यसमा ध्यान दिनुस । वैज्ञानिक हिसाबले दीर्घकालीन महत्त्व राख्ने खालका कार्यक्रम र योजना बनाउनुस ।”दीगो विकासका लक्ष्यहरु हासिल गर्ने वैज्ञानिक हिसाबका योजनाहरु बनाएर अघि बढ्नुपर्ने उहाँले बताउनुभयो । देशै भरिको खानेपानी र सरसफाइको गुरु योजना बनाउन अति आवश्यक रहेको उहाँको भनाइ छ ।

“खानेपानीका कतिपय आयोजनाहरु संघ र प्रदेशमा दोहोरिने सम्भावना धेरै छन् । सामूहिक रोड म्याप बनाएर अघि बढ्नु होला ।” कर्मचारीहरुलाई निर्देशन दिदै भन्नुभयो, ” घण्टौ घण्टा पानी लिन जानुपर्ने क्षेत्रलाई बढी प्राथमिकता दिएर काम गर्नुहोला । योजना बनाउदा भोलिको टीमले आत्मसात् गर्ने खालको बनाउनुस । “चालु आर्थिक वर्ष भित्र नतिजा देखिने गरि फिल्डमा खटेर काम गर्न उहाँले कर्मचारीहरुलाई निर्देशन दिनुभयो । विभागका महानिर्देशक सुनिलकुमार दासले चालु आर्थिक वर्षमा नतिजा देखिने गरि काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । फिल्डमा देखिने समस्यालाई हल गर्दै मन्त्रालयको समन्वयमा अघि बढ्ने उहाँले बताउनुभयो ।

प्रकाशित मिति : October 22, 2019 at 1:22 pm