९ जेष्ठ २०८३, शनिबार | Sat May 23 2026

तेइस वर्षपछि खानेपानी आयोजना सम्पन्न

४ कात्तिक, पर्वत । दक्षिण पर्वतको बिहादी गाउँपालिकामा सञ्चालित एउटा खानेपानी योजना २३ वर्षपछि सम्पन्न भएको छ । बिहादी गाउँपालिका–२ बर्राचौर र वडा नं ३ रानीपानीका बासिन्दालाई खानेपानी सुविधा दिने उद्देश्यले निर्माण गरिएको लिसे गैह्रा खानेपानी तथा सरसफाइ योजना २३ वर्षपछि सम्पन्न भएको हो ।

खानेपानीको मुूलको विवादका कारण विसं २०५३ मा निर्माण शुरु भएको योजना ७० प्रतिशत पूरा भएपछि बीचमै अलपत्र परेको थियो । पछिल्लो समयमा मूलको विवाद समाधान गरेपछि पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसरफाइ परियोजना (दोस्रो चरण) र उपभोक्ताको श्रमदानबाट निर्माण गरिएको हो । निर्माण सम्पन्न योजनाको प्रतिनिधिसभाका सदस्य पदम गिरीले उद्घाटन गर्नुभयो । उहाँले पर्वत जिल्लाका सबै घरधुरीमा खानेपानीका एक घर एक धारा पुर्याउने लक्ष्य आफ्नो कार्यकालभित्रै पूरा गर्ने प्रतिबद्धता जनाउनुभयो ।

आयोजना सम्पन्न भएपछि दुई वडाका १९३ घरमा घरघरै धारा निर्माण गरिएको छ भने बिद्यालय, सार्वजनिक संस्था, मन्दिरमा सामुदायिक धारासमेत बनेका छन् । विसं २०४२/०४३ मा नै खानेपानी योजनाको सर्वेक्षण भए पनि निर्माण हुननसकेको तर विसं २०५३ मा निर्माण शुरु गरिएको उपभोक्ता समितिका अध्यक्ष श्यामलाल गिरीले बताउनुभयो । “मुख्य पाइपलाइन, ट्याङ्की निर्माण भएपछि मूलको विषयमा विवाद हुँदा ७० प्रतिशत काम पूरा भए पनि त्यसै छाडिएको थियो ।” उहाँले भन्नुभयो, “सबै क्षेत्रको अथक प्रयासबाट तीन दशकअघिदेखिको सपना बल्ल पूरा गर्न सकेका छौँ ।”

खानेपानी योजना रु एक करोड ४३ लाखको लागतमा सम्पन्न भएको छ । त्यसमध्ये उपभोक्ताले जनश्रमदान र नगद गरी रु ५० लाखभन्दा बढी खर्च गरेका छन् । खानेपानीको समस्या रहेको बर्राचौरको एउटा भूगोलका बासिन्दाले शुद्ध खानेपानी घरघरमै धाराबाट पाउन सफल भएको र अब बाँकी क्षेत्रमा पनि छिट्टै खानेपानीको सुविधा पु¥याउने लक्ष्य राखिएको बर्राचौर वडा नं २ का अध्यक्ष ओमबहादुर कुँवर बताउनुहुन्छ ।

प्रकाशित मिति : October 21, 2019 at 10:11 am