चीनले नेपाली सेनाका लागि १५ करोड युआनबराबरको सैन्य सामग्री उपलब्ध गराउने
३ कात्तिक, काठमाडाैँ । चीन भ्रमणमा रहेका उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेल र जनवादी गणतन्त्र चीनका रक्षामन्त्री जनरल वी फेन्घेबीच नेपाली सेनालाइ गर्ने सहयोगसम्बन्धी सम्झाैतामा हस्ताक्षर भएको छ । सम्झाैतामा चीन सरकारले नेपाली सेनालाई १५ करोड युआनबराबरको मानवीय तथा विपद् व्यवस्थापनसँग सम्बन्धित सैन्य सामग्रीहरू उपलब्ध गराउने उल्लेख छ ।
चीनका राष्ट्रपति सी चिनफिङले गत साताको नेपाल भ्रमणका अवसरमा चीनले नेपाल सरकारलाई उक्त सहायता उपलब्ध गराउने प्रस्ताव गरेअनुसार आज उक्त औपचारिक सम्झौता पत्रमा हस्ताक्षर भएको हो । उक्त सम्झौताअन्तर्गत मानवीय तथा विपद् व्यवस्थापनका लागि नेपालले प्रस्ताव गर्ने सामग्रीहरूको विवरणको आधारमा प्रोटोकलमा समझदारी गरेबमोजिम आगामी तीन वर्षको अवधिमा नेपाललाई हस्तान्तरण हुनेछ ।
रक्षामन्त्री पोखरेलको गत वर्षको चीन भ्रमणका बेला पनि दुई देशका रक्षामन्त्रीहरूबीच नेपाली सेनालाई १५ करोड युयान बराबरको मानवीय तथा विपद् व्यवस्थापनसँग सम्बन्धित सहायता सामग्रीहरू उपलब्ध गराउने सम्झौतामा हस्ताक्षर भएको थियो जुन कार्यान्वयनको चरणमा रहेको रक्षा मन्त्रालयले जनाएको छ । रक्षा मन्त्रालयका उपसचिव मनोजकुमार आचार्यले बेइजिङबाट जारी गरेको विज्ञप्तिअनुसार, उक्तसम्झौतामा हस्ताक्षर हुनुपूर्व उपप्रधानमन्त्री तथा रक्षा मन्त्री र चीनका रक्षामन्त्रीबीच द्विपक्षीय सम्बन्ध र पारस्परिक हितका विषयमा वार्ता भएको थियो ।
प्रकाशित मिति : ३ कार्तिक २०७६, आईतवार १५:३९