९ जेष्ठ २०८३, शनिबार | Sat May 23 2026

नेपाल र म्यान्माबीचको समझदारीले आर्थिक एवं सांस्कृतिक सम्बन्ध बलियो बनाउँछः मन्त्री ज्ञवाली

१ कात्तिक, काठमाडाैँ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले एशियाका मुलुकहरुले पूर्वीय दर्शनका मूल्यमान्यतामा आधारित रहेर मिलेर काम गरी पूरै एशियाको विकास र समृद्धिका लागि योगदान गर्नुपर्ने बताउनुभएको छ । म्यान्मा नेपाल मैत्री सङ्घ र म्यान्मा नेपाल चेम्बर अफ कमर्शद्वारा आज यहाँ राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा आयोजित ‘म्यान्मा नेपाल मैत्री र व्यवसायका अवसर’ विषयको विचार गोष्ठीमा उहाँले म्यान्मा र नेपालले तिनीहरुले संयुक्त राष्ट्र सङ्घ, असङ्लग्न आन्दोलन, जी ७७ जस्ता सङ्गठन र समूहमा रहेर समसामयिक विश्वको चुनौतीको सामना गरी न्यायपूर्ण, निष्पक्ष र विधिमा आधारित अन्तरराष्ट्रिय विश्व प्रणालीको सुनिश्चिता गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले एकै वर्षमा व्यापार, लगानी, पर्यटन र संस्कृतिका क्षेत्रमा भएको समझदारीले दुवै देशको आर्थिक एवं सांस्कृतिक सम्बन्ध बनाउन मद्दत गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले म्यान्माले लुम्बिनीमा बनाएको चैत्य बौद्ध तीर्थयात्राका लागि महत्वपूर्ण आकर्षण बनेको बताउँदै लुम्बिनीका लागि राष्ट्र सङ्घका महासचिव ऊ थान्त९म्यान्मा०ले अन्तरराष्ट्रिय सहयोग जुटाउन गरेको कामको सराहना गर्नुभयो ।

नेपाल र म्यान्मा दुवै विकासोन्मुख मुलुक भएको र दुवैमा गरी करीब आठ करोड जनसङ्ख्या रहेको बताउँदै उहाँले दुवै राष्ट्र ठूलो बजार हुन सक्ने औँल्याउनुभयो । नेपालका आर्थिक तथा व्यावसायिक नीतिहरु उदार रहेको र प्रवेशाज्ञा प्रणाली पनि सरल भएकाले म्यान्माका उद्योगी व्यवसायीलाई नेपालमा लगानी गर्न आग्रह गर्नुभयो ।

नेपालले प्रायः सबै क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि ढोका खुला राखेको बताउँदै उहाँले विकासोन्मुख मुलुक भएकाले केही अन्तरराष्ट्रिय बजारमा केही विशेष सुविधा पाइएको पनि जानकारी दिनुभयो । गैर आवासीय नेपालीको कर समस्या समाधान गर्न संयन्त्र निर्माण गर्ने, प्रवेशाज्ञा प्रणालीलाई सरल बनाउने र गौतम बुद्ध विमानस्थल छिटो निर्माण गरी म्यान्मा नेपाल हवाइ उडान मिलाउन सकिने बताउनुभयो ।

सो अवसरमा उ थान्तका नाति डा थान मिन्तले दुवै देशका सम्पदा र संस्कृति संरक्षण गर्न मिलेर काम गर्न सकिने बताउँदै नेपाल म्यान्मा सीधा हवाई उडान गर्नुपर्नेमा पनि जोड दिनुभयो । उहाँले विद्यालयहरुमा इतिहास विषय अध्ययनअध्यापन हुनुपर्ने र अन्य धेरै क्षेत्रमा आदानप्रदान गर्नुुपर्ने पनि बताउनुभयो । श्याम रिमाल/रासस

प्रकाशित मिति : October 19, 2019 at 10:32 pm