९ जेष्ठ २०८३, शनिबार | Sat May 23 2026

कांग्रेसको अनेक तिकड्म पराजित गर्दै एनआरएनएको अध्यक्षमा कुमार पन्त विजयी, को हुन पन्त ?

१  कात्तिक, काठमाडौँ । गैर आवासिय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा कुमार पन्त विजयी भएका छन । निर्वाचनमा कुमार पन्तको प्यानलका अधिकांश भन्दा बढी उम्मेदवारले विजय प्राप्त गरेका छन । २ सय भन्दा बढी मतान्तरले नेपाली कांग्रेस निकटका कुल आचार्यलाइ पराजित गर्दै पन्त अध्यक्षमा विजयी भएका हुन । कुलको चुनावी अभियानमा नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशरण महतको नेतृत्वमा नेताहरूको ठूलै टोली मतदान स्थलमै खटिएको थियो । यद्यपी उनीहले कुलको पराजय रोक्न सकेनन् । कुमार पन्तले सहमतिको कुरा गर्दा महतले आफ्नै निवासमा चियापानको नममा कांग्रेस निकट एनआरएनको भेला गराएर प्यानल बनाएका थिए । निर्वाचन अायोगले मत जोड्ने कामहरू भैरहेकाले मतपरिणाम सार्वजनिक गर्न केही समय लाग्ने जनाएको छ ।

को हुन कुमार पन्त ?

सन् २००४ मा एनआरएन अभियानमा संलग्न भएका उनी अर्को वर्ष जर्मनीको हिस्सेन क्षेत्रका संयोजक भए । सन् २००९–२०११ मा अन्तराष्ट्रिय समन्वय परिषद (आईसीसी) सदस्य भएसँगै युरोप क्षेत्रको संयोजकको जिम्मेवारी वहन गर्न पुगे । सन् २०१३–२०१५ मा महासचिव भए र २०१५ यता दुई कार्यकाल आईसीसी उपाध्यक्षको जिम्मेवारीमा छन । सन् १९७६ मा गोर्खाको फुजेलमा जन्मिएका उनी विद्यार्थीका रुपमा सन् १९९९ मा जर्मनी गएका थिए । समाजशास्त्रमा स्नातक पन्त जर्मनीको फ्र्यांकफर्टमा बस्छन । उनी गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तराष्ट्रिय समन्वय परिषद् (आईसीसी) का उपाध्यक्ष हुन । उपाध्यक्षमा यो उनको दोस्रो कार्यकाल हो ।

उनको जर्मनी लगायत युरोपका विभिन्न देशमा होटलहरुमा लगानी छ । नेपालमा जलविद्युत परियोजना, बैंकिङ, रेमिट्यान्स, रियल स्टेट, सिमेन्ट उद्योग लगायतमा लगानी छ । पन्त नेपालमा एनआरएनमैत्री नीति, नियम र संविधान बनाउन, लगानीको वातावरण निर्माण तथा सहजीकरण, संसारभरिका एनआरएनलाई स्वदेशमा आर्थिक–बौद्धिक लगानी एवं परोपकारी कार्य गर्न प्रोत्साहित गर्ने अभियानमा पनि सक्रिय रहँदै आएका छन ।

भूकम्प लगायत नेपालमा बाढी, पहिरो, आँधीजस्ता प्राकृतिक विपत्तिका बेला राहत, उद्धार, पुनःनिर्माण लगायत परोपकारी कार्यको संयोजन गरी आफै कार्यक्षेत्रमा समेत खटिएका थिए । स्वदेशलाई समृद्ध बनाउने अभियानको साझेदार गैरआवासीय नेपाली बन्नुपर्छ भन्ने मान्यताका साथ पन्त एनआरएनको रु. १० अर्बको सामूहिक लगानी कोषलाई मूर्तरुप दिने अभियानमा सक्रिय छन ।

यस्तो थियो उनको चुनावी प्रतिवद्धता पत्र

१) स्वदेशको विकास र समृद्धिका लागि सम्पूर्ण गैरआवासीय नेपालीको सामूहिक र व्यक्तिगत लगानी भित्र्याउन सक्रिय रहनेछु । सानोदेखि ठूलो लगानीलाई अभियानमा समाहित गरी १० अर्बको सामूहिक लगानी कोषलाई मूर्तरुप दिनेछु । नेपाल सरकारकोसमेत लगानी रहने यस कोषले पूर्वाधार निर्माण लगायत विविध क्षेत्रमा लगानी गर्नेछ ।

२) विदेशमा सिकेको ज्ञान, सीप र प्रविधि नेपाल भित्र्याउने वातावरण बनाउन नवीन पहलहरु अघि बढाउनेछु । गत वर्ष मेरै संयोजकत्वमा काठमाडौँमा सम्पन्न पहिलो विज्ञ सम्मेलनका निष्कर्ष कार्यान्वयन गर्दै त्यसलाई निरन्तरता दिनेछु ।

३) विश्वभर छरिएका नेपालीमार्फत् नेपालका पर्यटकीय आकर्षण र गन्तव्यको प्रचारप्रसार गर्न विशेष योजना ल्याउनेछु । नेपालमा पर्यटन क्षेत्रमा लगानी गर्न गैरआवासीय नेपालीलाई प्रोत्साहित गर्नुका साथै त्यसअनुकूल वातावरण तथा नीतिका निम्ति पहल गर्नेछु । सरकारले अघि सारेको नेपाल ‘भ्रमण वर्ष–२०२०’ को सफलताका लागि सिंगो गैरआवासीय नेपालीको शक्ति र सञ्जाल परिचालन गर्न जुट्नेछु ।

४) सामाजिक तथा परोपकारी कामलाई अगाडि बढाउन भिजन–२०२० ले कल्पना गरेको एनआरएनए फाउन्डेसन विस्तार गरी सोहीमार्फत् एनआरएनहरुलाई सहभागी गराउनेछु ।

५) सुरक्षित र सम्मानपूर्ण वैदेशिक रोजगारीका लागि विद्यमान समस्या र समाधानका उपायबारे श्वेतपत्र तयार गरी त्यसैका आधारमा नेपाल सरकारसँगको समन्वयमा कार्ययोजना लागू गर्नेछु ।

६) वैदेशिक रोजगारीमा जानुअघि नै सीपयुक्त बनाई अन्तर्रा्िष्ट्रय श्रमबजारमा नेपाली जनशक्तिको सेवा सुविधा र मर्यादा अभिवृद्धिका प्रभावकारी कार्यक्रम नेपाल सरकारसँगको समन्वयमा कार्यान्वयन गर्नेछु ।

७) विदेशमा समस्यामा पर्न सक्ने नेपालीको उद्धार र राहतका लागि नेपाल सरकारसँग समन्वय गरेर वैदेशिक रोजगार राहत कोष वृद्धिमा लाग्नेछु ।

८) संविधानअनुसार गैरआवासीय नेपाली नागरिकता पाउने अधिकार शीघ्र कार्यान्वयनका लागि विशेष पहल गर्नेछु ।

९) विदेशमा रहेका नेपालीको मतदानको अधिकारसम्बन्धी व्यवस्थाको व्यावहारिक कार्यान्वयनमा लागिपर्नेछु ।

१०) संसारका कुनै पनि मुलुकमा रहेका हरेक गैरआवासीय नेपाली संघमा आबद्ध हुन न्यूनतम शुल्क वा निःशुल्क सदस्यता पञ्जीकरणका लागि पहल गर्नेछु । विश्वका जोकोही नेपालीले गर्वसाथ यो संस्था मेरो हो भनेर आबद्ध हुन चाहने गरी संरचना सञ्जाल र छवि निर्माणमा जुट्नेछु ।

११) नयाँ पुस्ताका गैरआवासीय नेपालीलाई संघका गतिविधिमा आकर्षित गर्दै स्वदेशसँगको सम्बन्धलाई कसिलो बनाउन विशेष ध्यान दिनेछु । साथै, त्यो पुस्ताको स्थानीय राजनीतिक, व्यावसायिक र सामाजिक क्षेत्रमा सहभागिता बढाउनेतर्फ पनि मेरो ध्यान रहनेछ ।

१२) संघमा महिलाको उपस्थिति, सहभागिता र नेतृत्वलाई व्यापक र सशक्त बनाउन विशेष अभियान सञ्चालन गरिनेछ ।

१३) संघको विधि, विधान र संस्थागत प्रक्रियाहरूलाई अनुशरण गर्ने गराउनेछु । सचिवायलको प्रभावकारिता र क्रियाशीलतामा ध्यान दिनेछु ।

१४) हरेक गैरआवासीय नेपालीको समान भूमिकालाई स्थापित गर्न नेतृत्व चयनका क्रममा अनलाइन भोटिङ प्रणालीबारे सम्भाव्यताको खोजी गरिनेछ ।

१५) संघको समयसापेक्ष विकास गर्न ‘भिजन २०२०’ को प्रस्ताव कार्यान्वयनको पक्षमा दृढ रहँदै यसलाई सफल बनाउन विशेष सक्रिय रहनेछु । साथै, संघको आर्थिक र सैद्धान्तिक स्थायित्व कायम गर्न विभिन्न कार्यक्रमहरु ल्याउनेछु ।

१६) संघका चालू परियोजनाको निरन्तरता, समापन र हस्तान्तरणलाई उच्च प्राथमिकतामा राख्नेछु ।

१७) संघले आफ्नो मूल्य, मान्यता र परिकल्पनामा रहेर अगाडि बढाउन खोजेका परियोजनामा हाम्रो मात्र स्रोत–साधनले नपुग्ने भएमा अन्तर्रा्िष्ट्रय संघसंस्थाहरुसँग सहकार्य गरिनेछ ।

१८) समान हक, हित र अधिकारका लागि संघर्षरत भूतपूर्व ब्रिटिस गोर्खाहरुको मागको पक्षमा उभिनेछु ।

१९) गैरआवासीय नेपालीका समस्या, चासो र सरोकारलाई उच्चस्तरबाट सम्बोधन गर्न नेपालको राजनीतिक नेतृत्वसँग नियमित सम्पर्क र प्रभावकारी समन्वयका निम्ति स्थायी संयन्त्र स्थापनाका लागि प्रयासरत रहनेछु ।

प्रकाशित मिति : October 18, 2019 at 10:30 am