मोटरसाइकल चोरी गर्ने तनँहुका नारायण भण्डारी धादिङबाट पक्राउ
३० असोज, धादिङ । काठमाडौँ महानगरपालिका-२६ ठमेल भगवान बहालको सडकको पार्किङबाट बा.९० प ६९२१ नम्बरको मोटरसाइकल चोरी गरेको अभियोगमा गोरखा गण्डकी गाउँपालिका-८ बस्ने तनँहु बन्दिपुर गाउँपालिका-२ पार्चे घर भएका २१ वर्षीय रोमन क्षेत्री भन्ने नारायण भण्डारीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय गजुरी धादिङबाट खटिएको प्रहरीले उक्त मोटरसाइकल चोरी गर्ने कार्यमा संलग्न भण्डारीलाई पक्राउ गरेको हो ।

गत असोज ८ गते पार्किङबाट चोरी भएको उक्त मोटरसाइकल असोज २२ गते धादिङ बेनिघाट रोराङ गाउँपालिका-३ सलाङघाटस्थित पृथ्वी लोकमार्गमा नम्बरप्लेट समेत परिबर्तन गरी प्रदेश नम्बर ३-००२-००३ प १४८९ राखी सवारी दुर्घटना गराएको अवस्थामा फेला पारिएको थियो । भण्डारीलाई चोरी भएको मोटरसाइकल सहित आवश्यक कारवाहीको लागि मंगलबार महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
प्रकाशित मिति : October 17, 2019 at 2:00 pm









