९ जेष्ठ २०८३, शनिबार | Sat May 23 2026

मीना सिर्जनशील समावेशी पत्रकारिता पुरस्कार स्मिता अधिकारीलाई

१७ असोज, पोखरा । समाजसेवी एवम् गण्डकी प्रदेशसभा सदस्य मीना गुरुङद्वारा स्थापित तथा नेपाल पत्रकार महासङ्घ कास्कीद्वारा सञ्चालित मीना सिर्जनशील समावेशी पत्रकारिता पुरस्कारबाट स्मिता अधिकारीलाई सम्मान गरिएको छ ।विजया दशमी, दीपावली लगायतका चाडपर्वको शुभकामना आदानप्रदान समेतको सन्दर्भ पारी आज आयोजित कार्यक्रममा गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले रु २० हजार १०१ सहित सम्मानपत्र र दोसल्लाबाट अधिकारीलाई सम्मान गर्नुभयो ।

सम्मानित अधिकारी सञ्चारिका समूह गण्डकी प्रदेशको अध्यक्ष एवम् अङ्ग्रेजी भाषाको पत्रिका ‘द राइजिङ नेपाल’मा आबद्ध हुनुहुन्छ । कार्यक्रममा मन्त्री चुमानले प्रदेशमा पत्रकारको हकहितका साथै सञ्चारमाध्यमलाई व्यवस्थित गराउनेमा आफूहरू लागेको धारणा राख्नुभयो । पत्रकारजगत्ले आफ्नो पेशागत जिम्मेवारी एवम् मर्यादालाई आत्मसात् गर्न सक्नुपर्ने बताउँदै उहाँले सञ्चार क्षेत्रकै समुचित व्यवस्थापनको उद्देश्यका साथ आफूहरू त्यससम्बन्धी कानून निर्माणको तयारीमा लागेको जानकारी दिनुभयो ।

पुरस्कारकी संस्थापिका एवम् गण्डकी प्रदेशसभा सदस्य गुरुङले समाजको रुपान्तरणका लागि पत्रकारिताका माध्यमबाट ठूलो योगदान पुग्ने भएकाले पुरस्कारको स्थापना गरिएको बताउनुभयो । जिल्ला समन्वय समितिका सभापति बैनबहादुर अधिकारी क्षेत्रीले समाजका राम्रा/नराम्रा प्रत्येक घटनाका साथै विकास निर्माणका कुरालाई सञ्चार क्षेत्रले जनसमक्ष ल्याउने भएकाले यसको महत्व रहेको धारणा राख्नुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घका अध्यक्ष दीपेन्द्र श्रेष्ठ, प्रजिअ रमेश केसी, नेपाल प्रेस युनियनका अध्यक्ष नवीन सिग्देल, लेखनाथ उद्योग वाणिज्य सङ्घका अध्यक्ष बलराम ढकाल, नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष त्रिभुवन पौडेल, महासङ्घका शाखा सचिव रामप्रसाद तिमल्सिना, प्रतिभा छनोट समितिका संयोजक दुर्गा भण्डारी, सम्मानित व्यक्तित्व अधिकारी लगायतले बोल्नुभएको थियो ।

प्रकाशित मिति : October 4, 2019 at 1:35 pm