८ जेष्ठ २०८३, शुक्रबार | Fri May 22 2026

दशैँअघि सार्वजनिक सवारीको भाडा नबढाउने सरकारकाे निर्णय

२७ भदौ, काठमाडौँ । सरकारले दशैँअघि सार्वजनिक सवारीसाधनको भाडा नबढाउने निर्णय गरेको छ । भाडा समायोजन नियमित गर्नुपर्ने भए पनि दशैँ अगाडि भाडाका विषयमा कुनै निर्णय नहुने यातायात व्यवस्था विभागले जनाएको छ । यातायात व्यवसायीसँग अग्रिम टिकटका लागि बैठक भइरहँदा पनि भाडा समायोजन तत्काल गर्ने गरी छलफल नभएको विभागका महानिर्देशक गोगनबहादुर हमालले बताउनुभयो । उहाँका अनुसार यस वर्ष बजेटमा नै भाडा समायोजनका लागि समेत कार्यक्रम छुट्याइएको छ ।

दशैँ, तिहार, छठलगायतका चाडपर्व सकिएपछि त्यसमा अध्ययन भएर मात्रै समायोजन हुने उहाँको भनाइ छ । सरकारले ३५ प्रतिशत पेट्रोलियम पदार्थको मूल्यका आधारमा र ६५ प्रतिशत सवारीसाधनका ‘पार्टपूर्जा’, जनशक्तिलाई लाग्ने खर्चलगायतलाई आधार बनाएर भाडादर निर्धारण गर्दै आएको छ । उहाँले भन्नुभयो, “चाडपर्व सकिएपछि नै दुवैलाई आधार मानेर अध्ययन गरेपछि भाडा समायोजन गरिनेछ ।” राष्ट्रिय यातायात व्यवसायी महासङ्घले भने नियमितरूपमा भाडा समायोजन गर्नु सरकारको जिम्मेवारी भएको बताउँदै आएको छ ।

महासङ्घका महासचिव सरोज सिटौलाले भाडा समायोजनको काम यातायात व्यवसायीको नभएर विभागको भएको बताउनुभयो । विभागले नियमितरूपमा समायोजन गर्नुपर्नेमा उहाँको जोड छ । उहाँले भन्नुभयो, “सात वर्षदेखि ६५ प्रतिशतको आधारमा भाडा समायोजन हुनसकेको छैन, यसतर्फ सरकारले सोच्नुपर्छ, हामीले भन्ने होइन ।” विभागले गत जेठ महीनामा भाडादर वृद्धि गरे पनि उक्त निर्णय पाँच घण्टामै फिर्ता लिएको थियो । वर्षेनी दशैँ, तिहार, छठलगायतका चाडपर्वका लागि लक्षित गर्दै अग्रिम टिकट खुलाउँदा भाडा समायोजनको विषय उठ्ने गरेको छ ।

प्रकाशित मिति : September 13, 2019 at 2:07 pm