८ जेष्ठ २०८३, शुक्रबार | Fri May 22 2026

एसिड पीडित मुस्कान खातुनलाई न्याय दिलाउँछाैँः मन्त्री यादव

२२ भदाै, काठमाडाैँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले एसिड आक्रमणबाट पीडित भई उपचाररत् मुस्कान खातुनलाई भेटी दोषीलाई कडा कारवाही गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

कीर्तिपुरस्थित नेपाल क्लेफ्ट एन्ड बर्न सेन्टरको आइसियुमा रहेकी पर्साकी खातुनलाई भेट्न पुगेका मन्त्री यादवले निर्दोष बालिकामाथि गरिएको आक्रमण ठूलो अपराध भएको विचार व्यक्त गर्दै उपचारमा कुनै कमी हुन नदिन अस्पताललाई निर्देशन दिनुभयो । उक्त घटनालाई सरकारले गम्भीरतापूर्वक लिएको बताउँदै यस्ता खालका अपराधमा सङ्लग्नलाई हदैसम्मको कारवाही गरिने विश्वास व्यक्त गर्दै मन्त्री यादवले घटनालाई जोडेर कुनै क्षेत्र विशेषलाई बदनाम नगराउन आग्रह गर्नुभयो ।

नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का प्रदेश नं २ का अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य प्रभु साहले पनि दोषीलाई कानून बमोजिम कडा कारवाही गरी यस्ता घटना रोक्नका लागि पहल गरिने विश्वास व्यक्त गर्नुभयो । रेशमकोठीस्थित त्रिभुवन हनुमान उच्च मावि कक्षा ९ मा अध्ययनरत् वीरगञ्ज–१३ श्रीपुर निवासी १५ वर्षीया खातुनमाथि गत शुक्रबार एसिड प्रहार भएको हो । खातुनको अनुहार, हात र शरीरका केही भाग एसिडले जलेका छन् ।

एसिड प्रहार गर्नेमाथि ज्यान मुद्दाको तयारी

वीरगञ्ज महानगरपालिका–३ छपकैया निवासी खातुन माथि एसिड प्रहार गरेको अभियोगमा पक्राउ परेका युवालाई हिरासतमा राखी अनुसन्धान गर्न जिल्ला अदालतले आज पाँच दिनको म्याद दिएको छ । प्रहरीले अनुसन्धानका लागि १० दिन म्याद थपको माग गरे पनि अदालतले पहिलो पटकका लागि पाँच दिन म्याद दिएको हो ।

गत शुक्रबार बिहान विद्यालय जानेक्रममा खातुनमाथि एसिड प्रहार गरेको अभियोगमा प्रहरीले सोही दिन वडा नं २ निवासी समसाद मियाँ र बाराको फेटाफुलवरीया घर भई हाल छपकैयामा बस्दै आएका मजिद आलमलाई शनिबार पक्राउ गरेको थियो ।

पक्राउ परेका अभियुक्तलाई अदालतमा उपस्थित गराई ज्यान मार्ने उद्योग र फौजदारी कार्यविधिको ‘कुरुप बनाउने कसुर’ मुद्दामा अनुसन्धान गर्न सो म्याद दिइएको जिल्ला अदालतका से्रस्तादार कृष्णप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

एसिड प्रहारबाट गम्भीर घाइते मुस्कानलाई उपचारका लागि नारायणी अस्पतलमा भर्ना गरिएको थियो । उपचारका क्रममा मुस्कानको स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि थप उपचारका लागि काठमाडौँ सिफारिस गरिएको थियो । पीडितको उपचारका लागि प्रदेश नं २ सरकारले रु पाँच लाख सहयोग गरेको छ ।

प्रकाशित मिति : September 8, 2019 at 7:24 pm