६ जेष्ठ २०८३, बुधबार | Wed May 20 2026

सवारी कारवाहीबाट १ करोड ६४ लाख राजश्व

१ साउन, सुर्खेत । जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले आव २०७५÷७६ मा रु एक करोड ६४ लाख राजश्व सङ्कलन गरेको छ । सुर्खेतमा सञ्चालित विभिन्न सवारी कारवाहीबाट आव २०७५÷७६ को असार ३० गतेसम्म रु एक करोड ६४ लाख ५८ हजार ५०० राजश्व सङ्कलन गरेको हो । आव २०७४÷७५ को राजश्वभन्दा ४७ प्रतिशत बढी राजश्व हो । गत आव २०७४÷७५ जिल्ला ट्राफिक प्रहरी सुर्खेतले रु ८७ लाख ८९ हजार राजश्व सङ्कलन गरेको थियो ।

विशेषगरी मादक पदार्थ सेवन गरेर सवारी हाँक्ने, बिना लाइसेन्स सवारी चलाउने, क्षमताभन्दा बढी भार बोक्नेलगायतका ट्राफिक नियम उल्लङ्घन गरी सवारी चलाउनेलाई कारवाहीबाट ठूलो परिमाणमा राजश्व सङ्कलन भएको जिल्ला ट्राफिक कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी निरीक्षक हरिबहादुर बिसीले जानकारी दिनुभयो ।

पुस महीनामा सबैभन्दा बढी दुई हजार ८७३ सवारीसाधन कारवाहीमा पर्दा प्रहरीले रु १९ लाख ४७ हजार राजश्व सङ्कलन गरेको थियो । सबैभन्दा कम साउन महीनामा एक हजार १४१ सवारी कारवाही हुँदा रु आठ लाख ५२ हजार ५०० राजश्व सङ्कलन भएको जनाइएको छ ।

ट्राफिक नियमसम्बन्धी आव २०७५÷७६ मा ६१३ पटक जनचेतनामूलक कार्यक्रम गर्दा सवारी दुर्घटनामा कमी आएकोे उहाँको दाबी छ । उहाँका अनुसार आव २०७४÷७५ मा सवारी दुर्घटनाबाट ३५ को मृत्यु भएकामा आव २०७५÷७६ मा त्यो सङ्ख्या २९ मा झरेको छ ।

प्रकाशित मिति : July 17, 2019 at 11:33 am