२९ कार्तिक २०८१, बिहीबार | Thu Nov 14 2024

धनगढी प्रिमियर लिग क्रिकेटलाई श्री एयरलाइन्सले प्रायोजन गर्ने

६ फागुन, काठमाडौँ । धनगढी प्रिमियर लिग (डिपिएल)क्रिकेट प्रतियोगिताको दोस्रो संस्करणका लागि श्री एयरलाइन्सले प्रायोजन गर्ने भएको छ । धनगढीमा आगामी चैत १७ गतेदेखि शुरु हुने उक्त प्रतियोगिताका लागि धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाही र श्री एयरलाइन्सका अपरेशन डाइरेक्टर कुन्दन गिरीले यहाँ आज आयोजित कार्यक्रममा सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो ।

सम्झौताअनुसार एयरलाइन्सले धनगढी प्रिमियर लिग क्रिकेट प्रतियोगितालाई रु १० लाख बराबरको प्रायोजन गर्नेछ । एयरलाइन्सले रु सात लाख ५० हजार नगद प्रदान गर्नेछ भने रु दुई लाख ५० हजार बराबरको सेवा उपलब्ध गराउने छ । एयरलाइन्सका अपरेशन डाइरेक्टर गिरीले क्रिकेटले राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रियस्तरमा राम्रो प्रदर्शन गरिरहेको र यस प्रतियोगितामा प्रायोजन गर्न पाउँदा आफू उत्साहित भएको बताउनुभयो ।

धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष शाहीले सम्झौताले प्रतियोगितालाई नयाँ उचाइमा पु¥याउने विश्वास व्यक्त गर्नुभयो । उक्त प्रतियोगिताका लागि अक्सन खेलाडी दर्ता गर्नेक्रम सकिएको र २०० भन्दा बढी खेलाडीले नाम दर्ता गराएको आयोजकले जनाएको छ । अक्सन फागुन ९ गते हुनेछ ।

प्रतियोगितामा टिम चौराहा धनगढी, सिवाइबी अत्तरिया, रुपन्देही च्यालेञ्जर्स, महेन्द्रनगर युनाइटेड, काठमाडौँ गोल्डेन्स र विराटनगर किङ्सले सहभागिता जनाउने छन् । प्रतियोगिताको विजेताले रु २५ लाख तथा उपविजेताले रु १० लाख प्राप्त गर्नेछ ।

प्रकाशित मिति : ६ फाल्गुन २०७४, आईतवार २१:४०