२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन पर्यटकको सुरक्षा आवश्यक


१६ असार, काठमाडाैँ । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख उत्तमराज सुवेदीले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन पर्यटकको सुरक्षा आवश्यक रहेको बताउनुभएको छ । पर्यटन विभाग र पर्यटक प्रहरी एकाइ भृकुटीमण्डपले आज बौद्धमा आयोजना गरेको ‘पर्यटक प्रहरी, स्थानीय प्रहरी एवं पर्यटनसँग सम्बद्ध निकायसँगको अन्तरक्रियामा उहाँले धेरै सङ्ख्यामा पर्यटक भित्र्याउन सुरक्षित वातावरण आवश्यक रहेको बताउनुभयोे ।

“नेपाल प्रहरी समुदायसँग सहकार्य गरेर उपत्यकाको सुरक्षा दिन दृढ छ, यसका लागि पर्यटन व्यवसायीको समेत गहन जिम्मेवारी आवश्यक छ”, उहाँले भन्नुभयो । बौद्धभित्र देखिएको विकृति अन्त्यका लागि व्यवसायीसँग छलफल गरेर अगाडि बढ्ने उहाँको भनाइ छ ।

बौद्धनाथ क्षेत्र विकास समितिका कार्यकारी निर्देशक वसन्त लामाले बर्सेनि लाखौँ पर्यटक भित्रिने बौद्ध क्षेत्रमा पर्यटक प्रहरीले पर्यटकसँगको सहकार्यमा राम्रो काम भइरहेको बताउनुभयो । परिचयपत्र विनाको पर्यटक पथप्रदर्शकलाई बौद्धनाथ क्षेत्र विकास समितिभित्र छिर्न नदिन पर्यटक प्रहरीले महत्वपूर्ण भूमिका खेल्नुपर्ने उहाँको भनाइ थियो ।

ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)का महासचिव आङपेम्बा शेर्पाले पर्यटकका लागि नेपाल उत्कृष्ट गन्तव्य भएकाले पर्यटकलाई आफूखुशीभन्दा पथप्रदर्शक लिएर हिँड्नुपर्ने बताउनुभयो । काठमाडौँ महानगरपालिका–६ का वडाध्यक्ष दीपेन्द्र लामाले बौद्ध क्षेत्रलाई उपत्यकाको नमूना पर्यटकीय गन्तव्यस्थलका रुपमा विकास गर्न वडा लागिरहेको बताउनुभयो ।

स्वदेशी तथा विदेशी पर्यटकलाई राम्रो सेवा प्रदान गर्न पर्यटक प्रहरीलाई समयानुकूल प्रविधिमैत्री बनाउँदै अगाडि लैजानुपर्नेमा पर्यटक प्रहरी एकाइ भृकुटीमण्डपका प्रमुख अमृतबहादुर बस्नेतले जोड दिनुभयो । कार्यक्रममा सहभागी अन्य वक्ताहरुले बौद्ध क्षेत्रमा जथाभावी रुपमा ट्याक्सी चालकले पैसा लिने, सवारी साधन पार्किङ गर्ने, पर्यटक पथप्रदर्शकले पर्यटकलाई जथाभावी दुःख दिने भएकाले उक्त समस्या तत्काल समाधान गर्नुपर्ने धारणा राख्नुभयो । रासस

प्रकाशित मिति : १६ असार २०७६, सोमबार १९:०७