२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

बालकृष्ण समकाे खण्डकाव्यका मुकुन्द इन्दिरा म्याग्दीमा भेटिए

– धु्रवसागर शर्मा

“दुःखीको घरमा मात्र तेरो बास हुने भए
हे ईश्वर दया राखी मलाई अझ दुःख दे ।”

साहित्यकार बालकृष्ण समले मुकुन्द इन्दिरा खण्डकाव्यमा व्यक्त गरेको माथिको कवितांशसँग ठ्याक्कै मेल खान्छ, म्याग्दीको धवलागिरि गाउँपालिका–७ धारापानी चाउनेकी ७० वर्षीया घमिष्टा भण्डारी र उनका दाजु चन्द्रबहादुर भण्डारीको जीवनकथा । कविताको हरफले त मुकुन्द इन्दिराको घर त रहेछ भन्ने अर्थ दिएको छ, तर भण्डारी दाजुबहिनीको त घरसमेत नहुँदा अर्काको गोठमा दाउराको सिरानी र परालको सिरक ओडेर बाँच्नुपर्ने बाध्यता छ । भण्डारी दाजुबहिनी विगत पाँच वर्षदेखि पशुचौपायालाई बनाइएको गोठमा बस्दै आउनुभएको छ ।

भत्किने अवस्थामा रहेको गोठभित्र रहेको पराललाई ओड्ने सिरक, वनजङ्गलबाट ल्याएको दाउरालाई सिरानी बनाएर उहाँहरु सुत्नुहुन्छ । गोठभित्र कुनामा रहेको अँगेना मुस्किलले दुई÷चार दिनमा एकपटक बल्छ । पुराना भाँडाकुँडा चुहिने अवस्थामा छन् भने एकछाक पकाउने चामलसमेत छैन । छिमेकीले पकाएर दिएको भातकै भरमा रात कटाउने गरेका दाजुबहिनीले पेटभरि भात खान पाउनुलाई नै अहोभाग्य ठान्छन् ।

गाउँकै विपन्न भण्डारी दाजुबहिनीलाई स्थानीय धनवती गिरीले पशुचौपाया राख्ने गोठमा आश्रय दिनुभएको छ । गर्मी मौसममा नजिकै पशुचौपाया भएकाले पनि लामखुट्टेबाट जोगिन आगो बाल्ने गर्नुहुन्छ भण्डारी दाजुबहिनी । “खानेकुरा केही छैन्, बस्ने बास छैन, दाई बिरामी छन्”, गोठमा प्रवेश गर्नेबित्तिकै घमिष्टाले भन्नुभयो । उहाँले एक सातादेखि वनजङ्गलबाट ल्याएको तरकारी र गाउँबाट मागेर ल्याएको भात खाएको बताउँदै बिरामी दाइलाई उपचार गर्ने पैसासमेत नभएको बताउनुभयो ।

गोठभित्र सुत्ने र खाना पकाउनेभन्दा पनि पराल, पुराना कपडा र दाउरामै रात बिताउने गरेको र बिहानै गाउँलेको काममा निस्किएर बेलुकी केही खानेकुरा ल्याउने गरेको स्थानीयवासी धनवती गिरीले जानकारी दिनुभयो । “अलपत्र अवस्थामा मैले बस्ने ठाउँ दिएको छु, मेरो पनि आर्थिक अवस्था कमजोर नै भएकाले उनीहरूलाई आवश्यक केही सहयोग गर्न सकेको छैन”, उहाँले भन्नुभयो ।

विसं २०७२ वैशाखमा गएको भूकम्पमा चर्किएको गोठमा बस्न बाध्य भण्डारी दम्पत्तीलाई बाह्रै महीना समस्या हुनेगरेको स्थानीयवासीको भनाइ छ । “न्यानो लुगा र बाक्लो सिरक ओढ्ने सपनाजस्तै छ, छेउमै पशुचौपायाको गोठ भएकाले गर्मी महीनामा पनि रात काट्न मुस्किल हुन्छ”, घमिष्टाको भनाइ उद्धित गर्दै एक स्थानीयवासीले भने ।

घमिष्टाका दाजु नशा र शरीर दुख्ने समस्याका कारण हिँडडुल गर्न सक्नुहुन्न । भोक लागेर चिच्याउन थालेपछि स्थानीयवासीले समेत केही खानेकुरा दिने गरेका छन् । पशुसरह जीवन जिउन बाध्य भण्डारी दाजुबहिनीलाई सानो बस्ने घर र सम्मानयुक्त जीवन स्थापित गर्न स्थानीयवासीले सहयोगको याचना गरेका छन् । खान, बस्न र बाँच्न पाउने अधिकारबाट समेत वञ्चित भएका भण्डारीलाई तत्काल गोठबाट सुरक्षित घरमा सार्न खाद्यान्न र लत्ताकपडाको आवश्यकता देखिएको छ ।रासस

प्रकाशित मिति : June 27, 2019 at 9:40 am