५ जेष्ठ २०८१, शनिबार | Sun May 19 2024

एक महिलाले पुरुषहरूलाई छोटो लुगा लगाएकी केटी देखे  बलात्कार गर भनेपछि …


१९ वैशाख, एजेन्सी ।  सोसल मिडियामा एउटा भिडियो भाइरल भइरहेको छ जसमा एक महिलासँग केही युवतीहरु झगडा गरिरहेको देखिन्छिन् । शिवानी गुप्ता नामकी प्रयोगकर्ताले यो भिडियो आफ्नो फेसबुक पेजमा सेयर गरेकी छिन् । शिवानीको आरोप अनुसार रेष्टुरेन्टमा एक अधवैंसे महिलाले उनको कपडामाथि आपत्ति जताउँदै केही पुरुषलाई उनको बलात्कार गर्न भनिन् ।

उनले पोष्ट सेयर गर्दै लेखेकी छिन्, ‘आज मलाई र मेरा साथीलाई एक रेष्टुरेन्टमा एक महिलाले प्रताडित गरिन् किनभने मैले छोटो कपडा लगाएकी थिएँ ।’उनले भनिन्, ‘भिडियोमा देखिएकी यी अधवैंसे मिहिलाले रेष्टुरेन्टमा सात पुरुषलाई मेरो बलात्कार गर्नका लागि भनिन् किनभने उनका अनुसार छोटो कपडा लगाएका कारण हामीमाथि यस्तै हुनुपर्छ ।

 

पोष्टमा लेखिएको छ, ‘उनको रुढिवादी मानसिकताको विरोध गर्नका लागि सहकर्मीको सहयोगमा हामीले उनलाई एक सपिङ सेन्टरमा लिएर गयौं । हामीले उनलाई माफी माग्ने मौका दियौं तर कुनै फाइदा भएन । उनीमाथि केही असर देखिएन । यहाँसम्म कि त्यहाँ भएकी एक अन्य महिलाले पनि उनलाई यसका लागि माफी माग्न भनिन् ।’

यो मामला दिल्ली नजिकैको गुरुग्रामको हो । भिडियोमा देखिए अनुसार एक सपिङ सेन्टरमा दुई महिलाबीच तिखो बहस भइरहेको छ जसमा अरोपित महिलाले पुलिसलाई बोलाउन भनिरहेकी छिन् ।

भिडियोमा देख्न सकिन्छ कि एक महिला उनलाई माफी माग्नका लागि बारम्बार भनिरहेकी छिन् । साथै माफी नमागेमा भिडियो भाइरल बनाइदिने धम्की पनि दिइरहेकी छिन् । भिडियोमा दुई महिलाबीच कुराकानी भइरहेको छ । त्यति नै बेला आरोपित महिला भन्छिन्, ‘अहिले म तपाईंसँग कुरा गर्न चाहन्नँ ।

यति नै बेला एक युवती भन्छिन्, ‘एक महिला भएको नाताले तपाईंले एउटै कोठामा भएका पुरुषलाई महिलाको बलात्कार गर कसरी भन्न सक्नुहुन्छ ?’यो कुरामा महिलाले ‘राइट’ भनेर हाँस्दै निस्कन खोज्छिन् ।

त्यसपछि अर्की युवती बोल्न थाल्छिन्, ‘मेरो कपडाको लम्बाईको विषयमा तपाईंको लेक्चर कहाँ गयो । मेरो बलात्कार हुनु पर्दथ्यो । तपाईंले यही भन्नुभएको थियो नि ।’त्यतिबेला महिलाले सपिङ सेन्टरका स्टाफलाई पुलिस बोलाउन भन्छिन् ।

त्यसपछि भिडियो बनाइरहेकी महिला भन्छिन्, ‘तपाईंलाई थाहा हुनु पर्छ कि प्रमाणको रुपमा म रेष्टुरेन्टबाट फुटेज लिन जाँदैछु । तपाईंले अहिले नै माफी माग्नुपर्छ । तपाईं अहिले नै माफी माग्नुहोस् यदि यस्तो गर्नुभएन भने म तपाईंको जीवन नर्क बनाइदिन्छु । तपाईंको भिडियो भाइरल बनाइदिन्छु ।’ तर महिलाले माफी माग्न अस्विकार गरिन् ।

त्यसपछि बहस थप चर्किन्छ । सपिङ सेन्टरका कर्मचारी मामला सुल्झाउन कोसिस गर्छन् । त्यतिबेला अर्की एक महिला आफ्नो कुरा राख्न अगाडि आउँछिन् । उनी भन्छिन्, ‘मेरा पनि दुई छोरीहरु छन् । उनीहरुले के लगाउँछन् त्यसले मलाई केही पनि फरक पार्दैन । तपाईंलाई कसैको लुगाबारे केही भन्ने कुनै अधिकार छैन । तपाईंले उनीहरुसँग माफी माग्नुपर्छ ।’

त्यसपछि पनि बहस चलिरहन्छ र महिलाहरु सपिङ सेन्टरबाहिर गएर कुरा गर्न थाल्छन् । दुबै पक्ष एकअर्कामाथि चिच्याउन थाल्छन् ।भिडियोको अन्त्यमा महिलाले भन्छिन्, ‘हेलो गाइज, यी युवती सबैको ध्यान खिच्नका लागि छोटो कपडा लगाउन चाहन्छन् । कति राम्रो कुरा । सबै महिला बलात्कार हुनका लागि छोटो कपडा लगाउनु पर्छ वा नग्न हुनुपर्छ । यदि तपाईं यिनीहरुको आमा–बुवा हुनुहुन्छ भने यी युवतीलाई नियन्त्रण गर्नुहोस् । यिनीहरुको व्यवहारका लागि, कपडाका लागि थप शिष्टाचार सिकाउनुहोस् ।’

त्यसपछि युवतीहरुले ती महिलालाई भन्छन्, ‘आन्टी तपाईंको कुर्ता पनि निकै टाइट छ, त्यसकारण तपाईंमाथि पनि केही नहोला भन्न सकिन्नँ ।’ त्यसपछि पनि विवाद सकिँदैन ।

भिडियोमा आए सयौं कमेन्टः

शिवानी गुप्ताको पोष्ट २० हजार बढी सेयर भइसकेको छ र थुप्रैले यसमा कमेन्ट गरेका छन् । धेरैजसो मानिसहरु शिवानीको समर्थन गरिरहेका छन् भने कतिले भिडियो पोष्ट गरेकोमा आपत्ति जनाएका छन् । प्रयोगकर्ता शीतल युवराज सिंह परहारले कमेन्ट गरे, ‘महिलाको मानसिकता देखेर निकै दुःख लाग्यो । यसले यो देखाउँछ कि एक परिपक्व मानिसले कसरी आफ्नो परिपक्वता गुमाउँछ ।’

अर्की लारा लोपामुद्रा मिश्रा लेख्छिन्, ‘कस्तो घटिया महिला हो यो । यस्तै मानिसहरुले नै स्थिती तनावग्रस्त बनाउँछन् । यो घटनालाई अघि बढाउँदै पुलिससम्म पुर्याउ । महिला साडीमा होस् वा बुर्कामा, उनीहरुको बलात्कार हुनसक्छ । तर यस्ता मानिसहरुको लागि कपडा समस्या हुने गर्छ ।’

भरत असानीले प्रश्न गरेका छन्, ‘मानिसहरुले कपडाको कुन लम्बाईका कारण बलात्कार हुन्छ भनेर कसरी थाहा हुन्छ ? के धेरैजसो बलात्कारीले यस्ता कुरालाई स्विकार गरेका छन् ? हामी भारतीयले दिमागमा जे आउँछ, त्यो बोल्ने बानी बसालिसकेका छौं, त्यसले अन्य व्यक्तिलाई कस्तो असर पर्छ भनेर एकपटक पनि सोच्दैनौं ।’

यस्तै, बानी मेगनले भिडियो पोष्ट गरेकोमा आपत्ति जताएकी छिन् । उनले लेखेकी छिन्, ‘उनले जे गरिन्, त्यो गलत थियो तर तपाईंलाई उनको सहमति बिना यो भिडियो पोष्ट गर्ने कुनै अधिकार छैन । यो उनको दृष्टिकोण हो तर उनको अनुहार सोसल मिडियामा देखाएर तपाईंको कसैले पनि मद्दत गर्नेछैन ।’

यद्यपी, यो कमेन्टको जवाफ दिँदै धेरै मानिसहरुले ‘ती महिलाले पुरुषहरुलाई बलात्कार गर भन्न कुनै अधिकारी छैन ’ भन्दै यसलाई अपराधको संज्ञा दिएका छन् । राताेपाटीबाट 

प्रकाशित मिति : १९ बैशाख २०७६, बिहीबार १०:२०