५ जेष्ठ २०८१, शनिबार | Sun May 19 2024

७० प्रतिशत बढी मतका साथ हास्यकलाकार वोलोदीमीर जेलेन्स्की यूक्रेनको राष्ट्रपति बन्दै


९ वैशाख, काठमाडाैँ । यूक्रेनमा हास्यकलाकार (कमेडियन) वोलोदीमीर जेलेन्स्की राष्ट्रपतिमा निर्वाचित हुने संकेत देखिएको छ । यूक्रेनमा भएको राष्ट्रपति चुनाव लगत्तै गरिएको मत सर्वेक्षणका अनुसार हास्यकलाकार वोलोदीमीर जेलेन्स्की भारी मतका साथ राष्ट्रपति पदमा निर्वाचित हुने अांकलन गरिएको हो ।

चुनाव लगत्तै गरिएको मत सर्वेक्षण अनुसार उनले ७० प्रतिशत भन्दा बढी मत प्राप्त गरेका छन् । तीन हप्ता पहिले भएको पहिलो चरणको मतदानमा उनी सबैभन्दा अग्रस्थानमा थिए । जेलेन्स्कीले यूक्रेनका राष्ट्रपति पेट्रो पोरोशेन्कोलाई चुनौती दिएका थिए। आफ्नो हार स्वीकार गरिसकेका पोरोशेन्कोले राजधानी कियभमा समर्थकहरूलाई सम्बोधन गर्दै राजनीति भने नछोड्ने बताएको बीबीसीले जनाएको छ ।

“म तपाइँहरूलाई कहिल्यै निराश बनाउने छैन,” जेलेन्स्कीले समर्थकहरूलाई भने। “म आधिकारिक रूपमा राष्ट्रपति भइसकेको छैन। तर यूक्रेनको नागरिकको हैसियतले म सोभियत संघ पछि स्थापना भएका सबै राष्ट्रलाई भन्न सक्छु – हामीलाई हेर। सबै कुरा सम्भव छ।”

प्रकाशित मिति : ९ बैशाख २०७६, सोमबार ०८:४१