१ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026

प्रेस स्वतन्त्रा कुण्ठित हुन नदिन कैलाश सिरोहिया र शुभशंकर कडेँललाई चीन लाँदै सरकार !

–पवित्रा मुडभरी

२५ चैत, काठमाडाैँ । सरकारले प्रेस स्वतन्त्रा कुण्ठित नहुने उपाय निकालेको छ । केहीदिन अघि प्रेस स्वतन्त्रा कुण्ठित भयो भनेर भारतबाटै विज्ञप्ति जारी गर्ने मिडिया सोसाइटीका अध्यक्ष समेत रहेका एबिसी टेलिभिजनका अध्यक्ष शुभशंकर कडेँल र सोसाइटीका पूर्व अध्यक्ष समेत रहेका कान्तिपुर मिडिया ग्रुपका कैलाश सिरोहियालाई सरकारले चीन भ्रमण गराउने भएको छ । यसैका लागि सरकारले कडेँल र सिरोहियालाई राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमणको सूचीमा राखेको छ । राष्ट्रपति भण्डारीका स्वकिय सचिव शिव भट्टराईले कडेँल र सिरोहियालाई चीन जाने भ्रमणदलमा राखिएको पुष्टि गरे ।

यसअघि चैत २१ मा सिरोहियाको निर्देशनमा भारतमा रहेका सोसाइटीका अध्यक्ष कडेँलले मिडिया सोसाइटीका नाममा चेतावनीयुक्त विज्ञप्ति जारी गरेका थिए ।  जसमा सरकारको समृद्धिको अभियानमा मिडिया मालिकलाई सहभागी नगराइ देशमा अराजकता र भिडन्तको अवस्था आउने चेतावनी दिइएको थियो । विद्यार्थी संगठनले प्रयोग गर्नेजस्ता भाषाको प्रयोग गरेको भन्दै सामाजिक सञ्जालमा विज्ञप्तिको तीब्र बिरोध भैरहेको छ भने १० घण्टा पनि बित्न नपाए जसले विज्ञप्ति जारी गरेको हो उसैले अाफ्नो फेसबुकबाट विज्ञप्ति डिलिट गरेको छ । यसको सीधा अर्थ व्ल्याकमेलिङ हो भनेर सबैजसो पत्रकारले अड्काल काटेका छन ।

सरकारले प्रेस पासमा अंकुश लगाएर प्रेस स्वतन्त्रता कुण्ठित गर्न खोजेको भन्ने विज्ञप्तिमा संलग्ना रहेका दुबै मिडिया मालिक राष्ट्रपतिको चीन भ्रमण टोलीमा पर्नुलाई धेरैले प्रेस स्वतन्त्रा कुण्ठित हुन नदिन चालकेको कदमको रूपमा विश्लेषण गरेका छन । राष्ट्रपति कार्यालय स्रोतका अनुसार दुइ मिडिया मालिकलाइ चीन भ्रमणको टोलीमा पार्न  नेकपा निकटका पत्रकारका केही नेता लागेका थिए । यही अप्रिल महिनाको २६ देखि २९ सम्म चीनको बेइजिङमा हुन लागेको बेल्ट एन्ड रोड इनिसिएटिभ्स (बीआरआई)को दोस्रो सम्मेलनमा सहभागी हुन राष्ट्रपति भण्डारीको नेतृत्वमा जाने प्रतिनिधिमण्डलको करिब टुंगो लागेको छ ।

राष्ट्रपति भण्डारीले बीआरआईको दोस्रो सम्मेलनमा सम्बोधन गर्ने कार्यक्रम समेत तय भएको छ । चीनले बीआरआईको दोस्रो सम्मेलनमा सहभागी हुन विश्वका अधिकांश मुलुकका राष्ट्र तथा सरकार प्रमुखलाई निमन्त्रणा गरेको छ। भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले चिनियाँ राष्ट्रपति सीसँग द्वीपक्षीय भेटबार्ता गर्ने कार्यक्रम समेत तय भएको छ । सो अवसरमा राष्ट्रपति भण्डारीले चिनियाँ राष्ट्रपति सीलाई नेपाल भ्रमणको औपचारिक निम्तो दिने कार्यक्रम रहेको छ। चीनले राष्ट्रपति भण्डारीको भ्रमणलाई निकै महत्व दिएको छ ।

नेपालस्थित चिनियाँ दूतावास, राष्ट्रपति कार्यालय र परराष्ट्रका अधिकारीहरूले राष्ट्रपतिको भ्रमणको तयारी तीव्र बनाएका छन । बीआरआईमा आफ्नो सहभागिताबारे राष्ट्रपति भण्डारीले यसअघि नै प्रधानमन्त्री केपी ओलीसँग परामर्श गरिसकेकी छिन । बीआरआई चिनियाँ राष्ट्रपति सीले अघि बढाएको महत्वाकांक्षी विकास परियोजना हो। बीआरआईको सदस्य राष्ट्र भए पनि नेपालले यसका लागि स्पष्ट परियोजना दिन सकेको छैन। सन् २०१७ मे १४ र १५ मा चिनियाँ राष्ट्रपति सी चिनफिङले बेइजिङमा बीआरआईको पहिलो अन्तराष्ट्रिय सम्मेलन आयोजना गरेका थिए ।पहिलो सम्मेलनमा तत्कालीन परराष्ट्रमन्त्री कृष्णबहादुर महरालगायत मन्त्रीहरूले सहभागिता जनाएका थिए ।

यो पनि पढ्नुहोस्

–मिडिया सोसाइटीको विज्ञप्ति, सञ्चारमन्त्रीको अडान र साहुजी स्वतन्त्रता

–प्रेस स्वतन्त्रता कुण्ठित भयोभन्ने मिडिया सोसाइटीको विज्ञप्ति अध्यक्ष कडेँलको फेसबुकबाट गायब

–समृद्धिको अभियानमा मिडिया मालिकहरू सहभागी हुन नपाए ‘अराजकता र भिडन्त’

प्रकाशित मिति : 21:12