३१ बैशाख २०८३, बिहिबार | Fri May 15 2026

फाेहाेरकाे ट्रककाे ठक्करबाट नुवाकाेटका १४ वर्षीय बालकको मृत्युपछि फोहोर फाल्न स्थानीयकाे अवरोध

२० चैत, नुवाकाेट । नुवाकाेटकाे ककनी गाउँपालिकामा मंगलबार ट्रिपरकाे ठक्करबाट १४ वर्षीय बाल संजाेक नेपालीकाे मृत्यु भएकाे थियाे भने १२ वर्षीय राजन नेपाली भाइते भएका थिए । ट्रिपरकाे ठक्करबाट बालककाे मृत्यु भएपछि स्थानीयले विराेध गर्दै डम्पिङमा फाेहाेर फ्याल्न अवराेध गरेका छन् । फाेहाेर बाेकेर गएकाे ट्रिपरबाट नुवाकोटको ककनी गाउँपालिका–२ मा उक्त घटना घटेकाे थियाे ।

उक्त घटनाको विरोधमा मङ्गलबार अपराह्नदेखि स्थानीयवासीले पु¥याएको अवरोध आज पनि कायमै छ । उपत्यकाबाट फोहर बोकेर आएका करीब १०० बढी कन्टेनरलगायतका सवारी विरोधका कारण सडकमा नै रोकिएका छन् । फोहर बोकेर विसर्जन गर्न उपत्यकाबाट आएका गाडीलाई काठमाडौँबाट नुवाकोट प्रवेश गर्ने सीमा तीनपिप्लेबाट आउन नदिएको स्थानीय बैकुण्ठ घिमिरेले जानकारी दिए ।

उनका अनुसार दुर्घटनापश्चात काठमाडौँ महानगरपालिकासँग पीडितपक्ष र सरोकारवाला सम्मिलित छलफलमा मृतक व्यक्तिका परिवारलाई उचित क्षतिपूर्ति, घाइते बालकलाई निःशुल्क उपचार र कक्षा १२ सम्म अध्ययनको व्यवस्था र दोषी चालकलाई कारवाहीको माग राखिएको छ ।

काठमाडाैँ महानगरपालिकाले ललितपुर महानगरपालिकामार्फत परिचालन भएको टिपर भएकाले समाधानका लागि सोही निकायबाट नै पहल गर्नुपर्ने भन्दै पन्छिएकाले समस्या समाधानतर्फ उन्मुख हुन नसकेकाे घिमिरेले बताएका छन् ।

घटनाको विरोधमा फोहर विसर्जन गर्न अवरोध पु¥याएका स्थानीयवासीले अन्य सवारीसाधन भने सञ्चालनमा रोक नलगाएको जिल्ला प्रहरी प्रमुख कृष्णबहादुर पल्लीमगरले जानकारी दिए । विरोधमा उत्रिएका पीडितपक्षले काठमाडौँस्थित ग्राण्डी अस्पतालमा रहेको शव बुझ्न अस्वीकार गर्दै आएका छन् । घाइते अर्का बालक राजनको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : 10:25