आगलागीपीडित ८ परिवारलाई गाउँपालिकाद्वारा राहत वितरण
१६ चैत, बाँके । बाँकेको नरैनापुर गाउँपालिकाका आगलागीपीडित आठ घरपरिवारलाई गाउँपालिकाले राहत प्रदान गरेको छ । गत बिहीबार आगलागी भएका चार घरपरिवार र यसअघि विभिन्न समयमा आगलागी भएका अन्य चार घरपरिवार गरी जम्मा आठ घरपरिवारलाई राहत प्रदान गरिएको गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद साहले जानकारी दिनुभयो ।
प्रतिपरिवार २५ किलो चामल, पाँच किलो दाल, दुई डेक्ची, चार प्लेट, दुई गिलास, दुई केजी नुन, एक लिटर खाने तेल र एक÷एक डाडुपन्यू राहतस्वरुप दिइएको उहाँले बताउनुभयो । नरैनापुर गाउँपालिका–१ कट्कुइँयामा बिहीबार साँझ भएको आगलागीबाट ठाकुर अहिर, खुलेराम अहिर, रामाशङ्कर अहिर र जित अहिरको फुसले छाएका घरगोठ जलेका थिए ।
वडा नं १ वडाध्यक्ष मोल्हे बेहना शेष र वडा सदस्य जलालु खाँले पीडितलाई गाउँमै पुगेर राहत प्रदान गर्नुभएको थियो । गाउँपालिकामै दमकल भएका कारण आधा घण्टामै आगो नियन्त्रणमा लिइएकाले ठूलो क्षति हुन नपाएको गाउँपालिकाका अध्यक्ष साहले बताउनुभयो ।
प्रकाशित मिति : 11:41







