३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026

तानसेन नगरपालिकाको हाताभित्र पत्रकार महासङ्घ पाल्पा शाखा अध्यक्षसहित अन्य पत्रकार कुटिए 

१६ चैत, पाल्पा । नेपाल पत्रकार महासङ्घ पाल्पा शाखा अध्यक्ष राजेशकुमार अर्यालसहित अन्य पत्रकार तानसेन नगरपालिकाको हाताभित्र कुटिएका छन् । समचार सङ्कलनका लागि खटिएका सामुदायिक रेडियो मदनपोखरामा कार्यरत पत्रकार विजय बौडेलमाथि शुक्रबार हातपात गरेको खबर पाएपछि तानसेन नगरपालिकामा पुगेका बेला आन्दोलनकर्मीले अर्यालमाथि आक्रमण गरेका हुन् ।

पत्रकार बौडेलमाथि यसअघि नै लेखेको समाचार तथा लेखका विषयमा आक्रोशित भीडले कुटपिट गरेको हो । तानसेन सडक फराकिलो बनाउन हुँदैन भन्दै आन्दोलनमा रहेका लक्ष्मण रेग्मी, बाबुराम विष्ट, शैलेन्द्र भट्टराईलगायतका व्यक्तिले पत्रकारमाथि हातपात गरेको महासङ्घको विज्ञप्तिमा उल्लेख छ ।

पत्रकारमाथि दुव्र्यवहार गरेको सूचनाका आधारमा घटनास्थलमा पुगेका बेला आन्दोलनकर्मीले आफूमाथि हातपात गरेको अध्यक्ष अर्यालले जानकारी दिनुभयो । शाखाका उपसभापति भरत शर्मा, सचिव किरण कौशलद्वारा जारी विज्ञप्तिमा पत्रकारलाई समाचार सङ्कलनका क्रममा हातपात गरी ज्यान मार्ने प्रयास गरेको घटनाप्रति नेपाल पत्रकार महासङ्घ पाल्पालगायत पाल्पाका सम्पूर्ण सञ्चारकर्मीहरु घोर भत्र्सना गर्दछौँ भनिएको छ ।

अर्याल र बौडेलले सामुदायिक रेडियो मदनपोखरामा आवद्ध हुनुहुन्छ । तानसेन नगरपालिका क्षेत्रमा पत्रकारमाथि हातपात हुनु राम्रो नभएको तानसेनका मेयर अशोककुमार शाहीले बताउनुभयो । पाल्पाका प्रमुख जिल्ला अधिकारी मनोहरप्रसाद खनालले पत्रकारमाथि भएको हातपातको घटनामा दोषीमाथि कारवाही हुने बताउनुभयो ।

प्रकाशित मिति : 10:56