दानबहादुर कार्कीको रिटको सुनुवाइ न्यायाधीशद्वय निरौला र पौडेलको इजलासमा
९ मंसिर, काठमाडौं । निवर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको रिटमा आज सुनुवाइ हुने भएको छ । कार्कीले दायर गरेको रिटको सुनुवाइ सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला र श्रीकान्त पौडेलको इजलासमा हुने भएको हाे ।
आईजीपीबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहाकारमा सरुवा गरिएपछि कार्कीले आईजीपीमा पुनर्वाहलीको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए । यसअघि दुई पटकसम्म कार्कीको मुद्दाका पेसी तोकिएको थियो । ७ मंसिरमा सर्वोच्च अदालतका न्यायाधीशद्धय हरि फुयाल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा पेसी परेको थियो ।
कार्कीलाई सुरक्षा सल्लाहाकारमा सरुवा गरिएपछि आईजीपीमा बढुवा गरिएका डा. मनोजकुमार केसीले म्याद बुझेको प्रमाण पेस नभएको भन्दै ७ मंसिरको सुनुवाइ ९ मंसिरलाई पेसीको मिति तोकेर सकिएको थियो । सरकारले कात्तिक १८ गते मन्त्रिपरिषद् बैठकमार्फत दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षकको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा सरुवा गरेको थियो । उनको ठाउँमा डा. मनोजकुमार केसीलाई आईजीपी बनाइएको थियो ।उक्त रिटको पहिलो सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेलको इजलासमा कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो ।
प्रकाशित मिति : November 25, 2026 at 10:35 am













