२ किलोभन्दा बढी सुनसहित त्रिभुवन विमानस्थलबाट दुई चिनियाँ नागरिक पक्राउ
९ मंसिर, काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई किलो ३४८ ग्राम सुनसहित दुई चिनियाँ महिला पक्राउ परेका छन्। पक्राउ पर्नेमा चीनको ग्वाङ्दोङकी ४५ वर्षीया लिन लिना र ३५ वर्षीया लिन सिनपिङ छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका अनुसार उनीहरू सोमबार राति ११:१५ बजे क्याथे प्यासिफिक एयरलाइन्समार्फत हङकङबाट काठमाडौं आएका थिए।
शंकास्पद गतिविधि देखिएपछि जाँच गर्ने क्रममा उनीहरूले शरीरभित्र लुकाएर ल्याएको अर्धठोस अवस्थाको सुन भेटिएको विमानस्थल प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी ढुण्डीराज नेउपानेले जानकारी दिए। प्रहरीका अनुसार लिन लिनाले पाँच वटा गोलाकार टुक्रामा एक किलो ३४० ग्राम र लिन सिनपिङले तीन वटा टुक्रामा एक किलो सुन लुकाएर ल्याएकी थिइन्।

दुवैले प्लास्टिकमा बेरेर मलद्वार र भित्री वस्त्रमा लुकाएको अवस्थामा उक्त पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ। भन्सार क्षेत्र पार गरेर बाहिर निस्कने क्रममा उनीहरूलाई पक्राउ गरिएको हो। दुवैलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा बुझाइने प्रहरीले जनाएको छ।
प्रकाशित मिति : November 25, 2026 at 10:30 am













