अरुण काबेली पावरको नाफा २ करोड, कस्ता छन् अन्य सूचक ?
२२ कात्तिक, काठमाडौं । अरुण काबेली पावर लिमिटेडको खुद नाफामा उल्लेख्य गिरावट आएको छ। कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा खुद नाफा ६५.२७ प्रतिशतले घटेको हो।
कम्पनीले चालु आर्थिक वर्षको असोज मसान्तसम्म २ करोड १ लाख ४६ हजार रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले ५ करोड ८० लाख ६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।

गत वर्षको पहिलो तीन महिनामा १९ करोड ४२ लाख ८७ हजार रुपैयाँ रहेको सञ्चालन आम्दानी चालु वर्षको सोही अवधिमा ९.१८ प्रतिशतले घटेर १७ करोड ६४ लाख ५९ हजार रुपैयाँमा सीमित भएको छ। आम्दानी घटेसँगै कम्पनीको कुल नाफा पनि १८.३२ प्रतिशतले घटेर १४ करोड ८६ लाख ८८ हजार रुपैयाँ कायम भएको छ।
गत वर्षको पहिलो त्रैमासमा ४ करोड ९८ लाख रुपैयाँ रहेको वित्तीय खर्च चालु वर्षको सोही अवधिमा २६.६६ प्रतिशतले बढेर ६ करोड ३१ लाख रुपैयाँ पुगेको छ। समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी ३ अर्ब ८९ करोड ५९ लाख रुपैयाँ रहेको छ। जगेडा कोषमा ८ करोड ९१ लाख रुपैयाँ पुगेको छ।
कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी २ रुपैयाँ ७ पैसा र प्रतिसेयर नेटवर्थ १८८ रुपैयाँ ९४ पैसा रहेकाे छ ।
प्रकाशित मिति : November 8, 2026 at 10:29 am










