१२.४५ प्रतिशतले बढ्यो रावा इनर्जीको नाफा, प्रतिसेयर आम्दानी कति ?
२२ कात्तिक, काठमाडौं । रावा इनर्जी डेभलपमेन्ट लिमिटेडले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा १ करोड ५० लाख ७० हजार रुपैयाँ खुद नाफा कमाएको छ। कम्पनीको गत आर्थिक वर्षको सोही अवधिको तुलनामा खुद नाफा १२.४५ प्रतिशतले बढेको हो। गत वर्षको पहिलो त्रैमासमा कम्पनीले १ करोड ३४ लाख २ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।
कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी पनि बढेको छ। गत आर्थिक वर्षको पहिलो तीन महिनामा ३ करोड ९ लाख ११ हजार रुपैयाँ रहेको यस्तो आम्दानी चालु आर्थिक वर्षको सोही अवधिमा बढेर ३ करोड ३१ लाख ८३ हजार रुपैयाँ पुगेको छ। यो गत वर्षको तुलनामा ७.३५ प्रतिशत बढी हो।

यस अवधिमा कम्पनीको बिक्री लागत भने १६.३५ प्रतिशतले घटेको छ। गत वर्ष ३५ लाख ७० हजार रुपैयाँ रहेको यस्तो लागत घटेर २९ लाख ८६ हजार रुपैयाँमा झरेको छ। आम्दानीमा भएको वृद्धि र बिक्री लागतमा आएको कमीका कारण कम्पनीको कुल आम्दानी १०.४५ प्रतिशतले बढेर ३ करोड १ लाख ९६ हजार रुपैयाँ पुगेको छ।
यद्यपि कम्पनीको वित्तीय खर्च भने बढेको छ। गत वर्षको पहिलो त्रैमासमा ५९ लाख १६ हजार रुपैयाँ रहेको वित्तीय खर्च चालु वर्षको सोही अवधिमा ६१ लाख ७२ हजार रुपैयाँ पुगेको छ। समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी २८ करोड रुपैयाँ कायम रहेको छ भने कुल इक्विटी १३.९२ प्रतिशतले बढेर २५ करोड ५० लाख रुपैयाँ पुगेको छ। कम्पनीको प्रतिसेयर आम्दानी ५ रुपैयाँ ३८ पैसा र प्रतिशेयर नेटवर्थ ९१ रुपैयाँ ८ पैसा रहेको छ।
प्रकाशित मिति : November 8, 2026 at 10:17 am










