माउण्टेन इनर्जीको १३ औं वार्षिक साधारणसभा सम्पन्नः २० प्रतिशत बोनस पारित, ५ जना संचालक निर्वाचित
२० कात्तिक, काठमाडौं । माउण्टेन इनर्जी नेपाल लिमिटेडको १३ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। आज कम्पनीका अध्यक्ष प्रदिपजङ्ग पाण्डेको अध्यक्षतामा काठमाडौँको भाटभटेनी स्थित आम्रपाली ब्यान्क्वेटमा साधारणसभा सम्पन्न भएको हो।
सभाले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको २० प्रतिशत बोनस सेयर र कर प्रयोजनको १.०५२६ प्रतिशत नगद लाभांश गरि कुल २१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। त्यस्तै सभाले वार्षिक प्रतिवेदन, र लेखा परीक्षकको प्रतिवेदनसहित अन्य वित्तीय विवरण पारित गरेको छ। सभाले आर्थिक वर्ष २०८३/८४ को लागि लेखापरीक्षक नियुक्ति गरि निजको पारिश्रमिक तोक्ने प्रस्ताव पनि पारित गरेको छ।
साधारणसभाले ५ जना संचालकको निर्वाचन पनि गरेको छ। जस अनुसार कम्पनीको संचालकमा डोलराज शर्मा, उत्तम प्रसाद भट्टराई , अरुण कुमार केसी, टिका प्रसाद उप्रेती र झनक दत्त खनाल निर्वाचित भएका छन् । डोलराज शर्मा यस अघिपनि कम्पनीमा आवद्द थिए। उनकै नेतृत्वमा मिस्ट्रीखोला जलविद्युत आयोजना निर्माण सम्पन्न भएको थियो।
कम्पनीले आर्थिक वर्ष २०८१/८२ मा पनि २० प्रतिशत बोनस शेयर र कर प्रयोजनको १.०५२६ प्रतिशत नगद लाभांश वितरण गरेको थियो। कम्पनीले लगातार दोस्रो वर्ष २० प्रतिशत बोनस शेयर वितरण गर्न सफल भएको छ। आर्थिक वर्ष २०८२/८३ मा कम्पनीले ७९ करोड ७० लाख ४३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो। जुन अघिल्लो आर्थिक वर्षको तुलनामा २९.०८ प्रतिशतले बढी हो । आर्थिक वर्ष २०८२/८३ मा कम्पनीको प्रति शेयर आम्दानी २५.५२ रुपैयाँ कायम भएको छ। कम्पनीले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट २० प्रतिशत बोनस दिएर पुँजी थप गर्दा पनि कम्पनीले २५ रुपैयाँभन्दा माथिको प्रति शेयर आम्दानी कायम गर्न सफल भएको छ।
यस कम्पनीले आर्थिक वर्ष २०७८/७९ देखि नियमित लाभांश वितरण गरिरहेको छ। कम्पनीले आर्थिक वर्ष २०७८/७९ मा १०.५२६३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । त्यसपछि भने कम्पनीले बोनस शेयरमा जोड दिएको छ। कम्पनीले आर्थिक वर्ष २०७९/८० र २०८०/८१ मा समान १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.७८९५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो। त्यसपछि आर्थिक वर्ष २०८१/८२ मा २० प्रतिशत बोनस शेयर र १.०५२६ प्रतिशत नगद लाभांश वितरण गरेको थियो। पुँजी बढ्दै जाँदा पनि कम्पनीले लगातार चौथो वर्ष दोहोरो डिजिटको लाभांश वितरण गर्न सफल भएको छ।
कम्पनीले ४२ मेगावाटको मिस्ट्रीखोला हाइड्रो र ५ मेगावाटको ताँदीखोला हाइड्रो परियोजना निर्माण सम्पन्न गरि विद्युत उत्पादन गरिरहेको छ। कम्पनीले सहायक कम्पनी दूधखोला हाइड्रोपावर कम्पनी प्रालि मार्फत ६५ मेगावाटको दूधखोला जलविद्युत आयोजना निर्माण थालेको छ । आयोजनाको लागि गत साउनमा वित्तीय व्यवस्थापन सम्पन्न भईसकेको छ ।
मनाङमा निर्माण हुने यस आयोजनाको कुल लागत १२ अर्ब ८९ करोड रहेको छ। प्रति मेगावाट लागत २० करोड भन्दा पनि कम रहेकोले यस योजनालाई आकर्षक मानिएको छ। आयोजनामा एनएमबि बैंक र सानिमा बैंकले १०.०१ अर्ब लगानी गर्ने छन् भने बाँकी रकम प्रबर्दक कम्पनीले लगानी गर्ने छ। निर्माण थालेको ३ वर्षभित्रमा विद्युत उत्पादन थालिसक्ने कम्पनीको लक्ष्य छ।
प्रकाशित मिति : November 6, 2026 at 5:40 pm










