बाढीले विद्यालय बगर बनायो, विद्यार्थीको पढाइमा साथी बन्यो अनेरास्ववियु
१९ कात्तिक, नुवाकोट । भदौ १० गतेको विनाशकारी बाढीले विद्यालय भवन नै बगाएर बगरमा परिणत भएपछि अस्थायी टहरामा पठनपाठन गर्न बाध्य नुवाकोटको त्रिभुवन त्रिशुली माध्यमिक विद्यालयका विद्यार्थीलाई अनेरास्ववियुले शैक्षिक सामग्री सहयोग गरेको छ ।
बाढीका कारण विद्यालयको भौतिक संरचना ध्वस्त भएपछि नियमित पठनपाठन प्रभावित भइरहेका बेला अनेरास्ववियु केन्द्रीय कमिटीले विद्यार्थीको शैक्षिक आवश्यकतालाई मध्यनजर गर्दै सामग्री उपलब्ध गराएको हो ।
अनेरास्ववियुले विद्यालयमा कक्षा १० मा अध्ययनरत ८० जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ । त्यसैगरी, ब्यागसहित थप ४२० थान शैक्षिक सामग्री विद्यालयलाई हस्तान्तरण गरिएको छ ।
संगठनका अध्यक्ष दीपक धामीले उक्त सामग्री विद्यालयका प्रधानाध्यापक राजेन्द्र दवाडीलाई हस्तान्तरण गरेका हुन् । सामग्री हस्तान्तरण कार्यक्रममा संगठनका इन्चार्ज रश्मी आचार्य, महासचिव अञ्जना शिवाकोटी, सचिव समीम बाबु खानसहित सचिवालय सदस्य तथा केन्द्रीय सदस्यहरूको उपस्थिति थियो ।

बाढीले विद्यालयको संरचना बगाएपछि अहिले अस्थायी टहरामा कक्षा सञ्चालन भइरहेको छ । विद्यालय भवन र शैक्षिक सामग्रीसमेत क्षतिग्रस्त बनेको अवस्थामा विद्यार्थीको पढाइलाई निरन्तरता दिन आवश्यक सामग्रीको अभाव रहेको विद्यालयले जनाएको छ ।
यस्तो अवस्थामा विद्यार्थीलाई प्रत्यक्ष सहयोग पुग्ने गरी शैक्षिक सामग्री उपलब्ध गराइएको अनेरास्ववियुले जनाएको छ । संगठनले विपद्मा परेका विद्यार्थी तथा शैक्षिक संस्थालाई सहयोग गर्ने अभियानलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।
अनेरास्ववियुले आफ्नो अभियानलाई ‘दुःखमा साथ, संकटमा सहारा’ भन्ने नारासँग जोड्दै आएको छ ।
प्रकाशित मिति : November 5, 2026 at 10:08 am










