१२ कार्तिक २०८३, बुधबार | Wed Oct 28 2026

नेपाल बैंकको ९०औँ वार्षिकोत्सवमा सर्वसुलभ आवास कर्जा, ०.५ प्रतिशत प्रिमियममै ऋण

११ कात्तिक, काठमाडौं । नेपाल बैंक लिमिटेडले आफ्नो ९०औँ वार्षिकोत्सवको अवसरमा विशेष सुविधासहितको ‘ने.बैं.लि. सर्वसुलभ आवास कर्जा योजना’ सार्वजनिक गरेको छ । बैंकले ९० दिनका लागि ल्याएको योजनाअन्तर्गत आधार दरमा ०.५ प्रतिशत प्रिमियम ब्याजदरबाट घर कर्जा उपलब्ध गराउने जनाएको छ ।

२०८३ कात्तिक १५ देखि माघ १५ गतेसम्म लागू हुने योजनाबाट ग्राहकले घर खरिद, घर निर्माण तथा मर्मत र अपार्टमेन्ट खरिदका लागि कर्जा लिन सक्नेछन् । कर्जाको अधिकतम अवधि २५ वर्षसम्म रहनेछ भने सेवा शुल्क ०.२५ प्रतिशत मात्र लाग्ने बैंकले जनाएको छ ।

योजनाअन्तर्गत कर्जा लिने ग्राहकले बैंकबाट पाँच लाख रुपैयाँसम्मको लाइफटाइम निःशुल्क क्रेडिट कार्ड सुविधा पाउनेछन् । त्यस्तै, लकर सुविधाको वार्षिक शुल्कमा ५० प्रतिशत छुट उपलब्ध गराइने बैंकले जनाएको छ ।

नेपाल बैंक आगामी कात्तिक ३० गते ९०औँ वर्षमा प्रवेश गर्दैछ । वार्षिकोत्सवको अवसरमा ल्याइएको यो योजनाले घर खरिद, निर्माण तथा मर्मतका लागि कर्जा लिन चाहने ग्राहकलाई लक्षित गरेको बैंकको भनाइ छ ।

नेपालको पहिलो बैंकका रूपमा परिचित नेपाल बैंकले देशभर २३१ शाखा, २५० एटीएम र ५८ एक्सटेन्सन काउन्टरमार्फत करिब ३० लाख ग्राहकलाई वित्तीय सेवा प्रदान गर्दै आएको छ । बैंकले आधुनिक बैंकिङ प्रविधिको प्रयोग र ग्राहक सेवामा सुधारलाई प्राथमिकता दिँदै आएको जनाएको छ ।

प्रकाशित मिति : October 28, 2026 at 4:20 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/